images
images

माझफाँटमा जारी पुरुषोत्तम महायज्ञकाे दोस्रो दिन उत्साहजनक जनसहभागिता, दान सहयोग बढ्दै 

images

दमौली, जेठ २५ । व्यास नगरपालिका–९ माझफाँटस्थित शिवालय (माहेन्द्रेश्वर महादेव) मन्दिरमा सञ्चालन भइरहेको पुरुषोत्तम महायज्ञको दोस्रो दिन साेमबार व्यापक जनसहभागिता देखिएको छ। कथा श्रवण, धार्मिक अनुष्ठान तथा विभिन्न कार्यक्रम अवलोकन गर्न टाढाटाढाबाट भक्तजनहरू महायज्ञ स्थल पुगेपछि आयोजक उत्साहित बनेका छन्।

महायज्ञको दोस्रो दिन विभिन्न व्यक्ति तथा संघसंस्थाबाट उल्लेखनीय दान सहयोग प्राप्त भएको छ। भूपू सैनिक संघ व्यास–९ माझफाँटले रु. ११ हजार १ सय २०, केशवराज न्यौपानेले रु. १० हजार ५ सय ५, तुलप्रसाद कँडेल (व्यास–७ नरङ्गा) ले रु. ५ हजार ५१ तथा फूलबारी आमा समूह काजीफाँटले रु. ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गरेका छन्। यसबाहेक अन्य धेरै भक्तजन तथा शुभेच्छुकहरूले पनि महायज्ञका लागि आर्थिक तथा नैतिक सहयोग गरेका वडा सदस्य सन्तोष जिसीले बताए ।

माहेन्द्रेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा सञ्चालन भइरहेको महायज्ञको उद्घाटन शनिबार भव्य रूपमा सम्पन्न भएको थियो। उद्घाटनअघि कलेस्ती बजारदेखि महायज्ञ स्थलसम्म निकालिएको कलश यात्रामा सयौं श्रद्धालु सहभागी भएका थिए। बाजागाजा, भजन–कीर्तन, नाचगान तथा धार्मिक उत्साहका बीच सम्पन्न कलश यात्रापछि महायज्ञको औपचारिक उद्घाटन गरिएको थियो।

महायज्ञमा १८ पुराणका सरस प्रवक्ता बालव्यास नारायण न्यौपानेले कथा वाचन गरिरहेका छन्। जेठ २४ गतेदेखि सुरु भएको महायज्ञ ३१ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको संस्थाका सचिव भाेटबहादुर थापाले बताए ।

समिति अध्यक्ष बामदेव न्यौपानेको अध्यक्षतामा भइरहेको कार्यक्रममा सहजीकरण भोटबहादुर थापाले गरेका छन् ।

धार्मिक अनुष्ठानमार्फत मन्दिर संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन तथा पञ्चमन्दिर निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको स्थानीय नारायणप्रसाद न्यौपानेले जानकारी दिए । महायज्ञ सफल बनाउन स्थानीयवासी, युवा तथा विभिन्न संघसंस्थाको सक्रिय सहयोग रहेको वडा सदस्य जिसीकाे भनाइ छ ।

महायज्ञको दोस्रो दिन कथा श्रवण तथा धार्मिक कार्यक्रममा सहभागी हुन ठूलो संख्यामा भक्तजन उपस्थित भएपछि माझफाँट क्षेत्र धार्मिक वातावरणले भरिएको छ। आयोजकले महायज्ञ अवधिभर सहभागी भई धार्मिक लाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS