तनहुँ,
व्यास नगरपालिका–६ बाह्रबिसेमा नसरिने रोग (NCD) सम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ, प्रदेश अस्पताल दमौली र प्रदेश आयुर्वेद चिकित्सालय तनहुँको संयुक्त आयोजनामा तथा व्यास नगरपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख एवं जनस्वास्थ्य प्रशासक अमर दवाडीले स्वागत मन्तव्य राख्दै शिविरको उद्देश्यबारे प्रकाश पारेका थिए
। उनले नसर्ने रोगहरूका बारेमा नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै समयमै परीक्षण र उपचारको महत्त्व उल्लेख गरेका थिए । शिविरमा १०७ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका थिए। सहभागीहरूलाई रक्तचाप, ब्लड सुगर, उचाइ, तौल (BMI), कम्मरको गोलाइ मापनका साथै कोलेस्ट्रोल, ट्राइग्लिसराइड, LDL, HDL, सिरम क्रिएटिनिन, युरिया, SGPT, SGOT तथा युरिन एल्बुमिन परीक्षण सेवा प्रदान गरिएको थियो। साथै सेवाग्राहीलाई आवश्यक परामर्श तथा उपचार व्यवस्थापन समेत गरिएको थियो। कार्यक्रममा व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले सबै तहका सरकार नागरिकको स्वास्थ्य सेवा पहुँचमा ल्याउन सक्रिय रहेको बताउँदै व्यास नगरपालिकाले पनि विभिन्न स्वास्थ्य कार्यक्रममार्फत नागरिकको स्वास्थ्य सुधारमा काम गरिरहेको जानकारी दिए । त्यसैगरी प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले स्वस्थ जीवनशैली सम्बन्धी प्रशिक्षण प्रदान गर्दै आयुर्वेदिक पद्धतिबाट रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनका उपायबारे जानकारी गराएको थियो।
स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरबाट सर्वसाधारण लाभान्वित भएका थिए ।















