आँबुखैरेनी, ०३ असार ।
आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, पूर्वाधार, सामाजिक सुरक्षा, रोजगार तथा सुशासनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले नागरिकको जीवनस्तर उकास्ने तथा समृद्ध आँबुखैरेनी निर्माण गर्ने लक्ष्यसहित २२ बुँदे नीति तथा कार्यक्रम अघि सारेको हो। गाउँपालिकाले ‘पर्यटन, कृषि, उद्यम र पूर्वाधार ः सुखी र समृद्ध आँबुखैरेनीको आधार’ तथा ‘शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको महत्व ः आँबुखैरेनी गाउँपालिकाको दायित्व’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आगामी वर्षका प्राथमिकता सार्वजनिक गरेको छ ।
प्रस्तुत नीति तथा कार्यक्रम अनुसार स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । आँबुखैरेनी अस्पतालको स्तरोन्नति, स्वास्थ्य संस्थाको सेवा विस्तार, वडा नं. ६ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना, विपन्न नागरिकलाई निःशुल्क विशेषज्ञ उपचार तथा सम्पूर्ण चेपाङ परिवारको स्वास्थ्य बिमा निःशुल्क गरिने भएको छ । ‘योग ध्यान आज, निरोगी समाज’ अभियानमार्फत नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धन गरिनेछ ।
शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै कम्प्युटर तथा विज्ञान प्रयोगशाला, स्मार्ट बोर्ड र इन्टरनेट विस्तार गरिनेछ। शिक्षकको क्षमता अभिवृद्धि, छात्रवृत्ति कार्यक्रम, संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य तथा आँबुखैरेनी क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनको पहल गरिनेछ । स्वास्थ्य विज्ञान सहितको बहुप्राविधिक शिक्षालय स्थापना गर्न सम्बन्धित निकायसँग सहकार्य गरिने जनाइएको छ ।
खेलकुद क्षेत्रको विकासका लागि पालिकास्तरीय प्रतियोगिता सञ्चालन, मार्की चोकस्थित रंगशालाको स्तरोन्नति, खुला व्यायामशाला स्थापना तथा कभर्ड हल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
पर्यटनलाई आय आर्जनको प्रमुख आधारका रूपमा विकास गर्न छिम्केश्वरी, आँधीमूल, ऐना पहरा, अकला मन्दिर, चमेरो गुफा, अक्लाड पार्क तथा अन्य पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरिनेछ। डिजिटल प्लेटफर्ममार्फत पर्यटन प्रवद्र्धन गरी युवालाई स्वरोजगारसँग जोड्ने योजना रहेको छ ।
कृषि तथा पशुपालन क्षेत्रलाई उत्पादनमुखी बनाउन वास्तविक किसानलाई उत्पादनका आधारमा अनुदान, दूधमा दिइँदै आएको अनुदान वृद्धि, मास र फापरमा अनुदानलाई निरन्तरता तथा प्रत्येक वडामा खसी–बोका संकलन केन्द्र स्थापना गरिने भएको छ । पशु बिमा, बाली बिमा, पशु सेवा क्लिनिक सञ्चालन तथा निःशुल्क कृत्रिम गर्भाधान सेवामार्फत कृषकको लगानी सुरक्षित गर्ने नीति लिइएको छ ।
सुरक्षित तथा व्यवस्थित बस्ती निर्माणका लागि बजार क्षेत्रमा सडक बत्ती तथा सिसिटिभी जडान गरिनेछ । नागरिकलाई आफ्नै पालिकाबाट भूमि प्रशासन सेवा उपलब्ध गराउने तयारी गरिएको छ भने भूमिहीन सुकुम्बासी, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिइने भएको छ ।
पूर्वाधार विकासअन्तर्गत सडक कालोपत्रे, ढलान, खानेपानी तथा सिँचाइ योजनालाई प्राथमिकता दिइएको छ। ‘एक घर–एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइने तथा सहरी क्षेत्रमा न्यूनतम खानेपानी महसुल निःशुल्क बनाउने नीति रहेको छ ।
सामाजिक क्षेत्रतर्फ बालबालिकामैत्री पालिका घोषणा, ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य सेवा, अपाङ्गता भएका व्यक्तिका लागि सीप तथा उद्यम कार्यक्रम, कानुनी सचेतना तथा मेलमिलाप कार्यक्रम सञ्चालन गरिनेछ। जातीय विभेद, छुवाछुत, घरेलु हिंसा, लागुऔषध दुव्र्यसन, साइबर अपराध तथा बालविवाहविरुद्ध अभियान सञ्चालन गरिने जनाइएको छ ।
विपन्न परिवारको आवास सुधार कार्यक्रमलाई निरन्तरता दिइने भएको छ भने युवालाई स्वरोजगार बनाउन सीप विकास शाखा स्थापना गरी विभिन्न व्यावसायिक तथा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ ।
गाउँपालिकाले राजस्व सुधार अभियानमार्फत आन्तरिक आय वृद्धि गर्ने, डिजिटल माध्यमबाट कर तथा राजस्व भुक्तानीको व्यवस्था गर्ने तथा फोहोरमैला व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउने नीति लिएको छ। कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन गरी कौसी खेतीमा प्रयोग गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ ।
वन तथा वातावरण संरक्षणका लागि सामुदायिक वनसँग सहकार्य गरिने, स्थानीय स्तरमा गरिबी न्यूनीकरण तथा सीप विकास कार्यक्रम सञ्चालन गरिने भएको छ। ‘मेरो पूर्वाधार, मेरो जिम्मेवारी’ अभियानमार्फत सडक, खानेपानी र अन्य संरचनाको संरक्षणमा समुदायलाई प्रत्यक्ष सहभागी गराइनेछ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन उद्धार तथा राहत प्रणाली सुदृढ गरिने, आगलागी नियन्त्रणका लागि आवश्यक उपकरण व्यवस्थापन गरिने तथा टोलस्तरमा तयारी सुदृढ गरिने नीति लिइएको छ।
त्यसैगरी, आदिवासी जनजाति, दलित, खस आर्य, मुस्लिम तथा क्रिश्चियन समुदायका सांस्कृतिक सम्पदाको संरक्षण, परम्परागत कला र संस्कृतिको जगेर्ना तथा आदिवासी बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण कार्यलाई निरन्तरता दिइने भएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, पूर्वाधार, सामाजिक न्याय, सुशासन र सांस्कृतिक संरक्षणलाई समान महत्व दिँदै आँबुखैरेनीलाई समृद्ध, सुरक्षित, आधुनिक र नमुना स्थानीय तहका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गरेको छ ।
निती तथा कार्यक्रमको पुर्ण पाठ
















