काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा जीवन बीमा कम्पनीहरुले १८ अर्ब ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले संकलन गरेको बीमाशुल्कमध्ये २ अर्ब २५ करोड रुपैयाँ प्रथम बीमाशुल्क वापतको रकम हो भने १५ अर्ब ७३ करोड रुपैयाँ बीमा पोलिसी नवीकरणबाट संकलन भएको बीमाशुल्क रकम हो । त्यस्तै, २४ करोड ७२ लाख रुपैयाँ वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायबाट संकलन भएको रकम हो ।
१४ वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै ५ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ । जसमध्ये ६४ करोड ६६ लाख प्रथम बीमाशुल्क वापतको रकम हो भने ५ अर्ब ५ करोड रुपैयाँ नवीकरण बीमाशुल्क वापतको रकम हो । त्यस्तै, कम्पनीले एक करोड ३३ लाख रुपैयाँ वैदशिक रोजगार म्यादी जीवन बीमा व्यवसायबाट संकलन गरेको हो ।
धेरै बीमाशुल्क आर्जन गर्नेमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रोमा परेको छ । कम्पनीले साउन महिनामा मात्रै दुई अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले आर्जन गरेको बीमाशुल्कमध्ये ४१ करोड ३४ लाख रुपैयाँ प्रथम बीमाशुल्क वापतको रकम हो भने एक अर्ब ८३ करोड रुपैयाँ नवीकरण वापतको बीमाशुल्क हो । त्यस्तै कम्पनीले एक करोड ९५ लाख रुपैयाँ वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायबाट संकलन गरेको रकम हो ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले दुई अर्ब ७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको बीमाशुल्कमध्ये २० करोड दुई लाख रुपैयाँ प्रथम बीमाशुल्क वापतको रकम हो भने एक अर्ब ८७ करोड रुपैयाँ नवीकरण बीमाशुल्क वापतको रकम हो ।
साउन महिनामा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब रुपैयाँ भन्दा बढीको बीमा व्यवसाय गरेको छ । प्राधिकरणको तथ्यांक अनुसार कम्पनीले एक महिनामा एक अर्ब १२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्सले एक अर्ब ९३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
लघु बीमा व्यवसायबाट करिब १७ करोड बीमाशुल्क संकलन
जीवन बीमा कम्पनीहरुले लघुबीमा व्यवसायबाट १६ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । साउनमा महिनामा संकलन भएको सो बीमाशुल्कमध्ये कम्पनीहरुले १६ करोड ७७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले लघुबीमा व्यवसायलाई नै लक्षित गरी तीन वटा लघुबीमा कम्पनी सञ्चालनको अनुमति दिएको छ । तर, गत साउन महिनामा नेशनल लाइफ इन्स्योरेन्सले लघुबीमा व्यवसाय बापत ६ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तीन करोड ८५ लाख रुपैयाँ र सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड ५५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले भने प्रथम बीमाशुल्क वापत एक करोड ८८ लाख रुपैयाँ संकलन गरेको छ । क्रेष्ट माईक्रो लाइफ इन्स्योरेन्स कम्पनीले भने एक करोड २९ लाख रुपैयाँ संकलन गरेको छ ।
५८ हजार वैदेशिक रोजगार बीमा पोलिसी जारी
साउन महिनामा जीवन बीमा कम्पनीहरुले ५८ हजार ७९८ वैदेशिक रोजगार बीमा पोलिसी जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २७ हजार ८७६ वटा वैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसी जारी गरेका छन् । एशियन लाइफले १२ हजार ४३७ वटा पोलिसी जारी गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चार हजार ७२० वटा पोलिसी जारी गरेको छ ।
वैदेशिक रोजगार म्यादी जीवन बीमा वापत कम्पनीहरुले २४ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । कम्पनीहरुमा अहिले २१ लाख चार हजार ९४७ बीमा पोलिसी सक्रिय छ ।
















