
तनहुँ । जिल्लाबाट लामो तथा छोटो दुरीका लागि छुट्ने बसहरु आज छुटेका छैनन् । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासँघ गण्डकी प्रदेशले आज प्रदेशभरी यातायात सञ्चालन नगर्न निर्देशन गरेको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई ७ बुँदे माग सहित मजदुर र यातायात व्यावसायीहरुले ज्ञापनपत्र बुझाएका थिए । रातो नम्बर प्लेटलाई यात्रु बोक्न दिएको अधिकार खारेज गर्नुपर्ने, श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागु गर्नुपर्ने, यातायात प्राधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्नुपर्ने, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्नुपर्ने, यातायात मजदुर र व्यावसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, भौतिक पुर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाइ क्रियाशिल बनाउने पर्ने लगायतका मागहरू रहेका छन् ।
यातायात बन्द भएसँगै ग्रामीण क्षेत्रबाट जिल्ला सदरमुकाम आउने सवारी साधनहरु र जिल्लाबाट बाहिर जाने सवारी साधनहरु पूर्ण रुपमा ठप्प रहेका छन् । विहानै देखि टिकट काउन्टरहरु खुलेका छैनन् । सडक सुनसान बनेको छ ।
निश्चित गन्तव्यमा निस्किएका यात्रुहरु विचमा अलपत्र परेका छन् । यसले नागरिकहरुको दैनिक जनजीवनमा असर पुगेको छ ।