images
images

राजमार्गमा हिलो र धुलोले सास्ती

images

दमौली । पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ । पोखरा–मुग्लिन सडक सडक समयमा नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ ।

राजमार्गबाट आउजाउ गर्ने सर्वसाधारण यात्रु र स्थानीयवासीले हिलो र धुलोको सास्तीबाट कहिले मुक्ति पाउछन् टुङ्गो छैन । ‘प्रि–मनसुन’को याम चलिरहेकाले पानी पर्दासाथ सडक हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुने गरेको छ । सडक स्तरीय नहुँदा पैदलयात्रीसमेत समस्या व्यहोर्न बाध्य छन् ।

बिशेष गरेर व्यास नगरपालिकाको तालघरे देखी कोत्रे सम्म सडककै कारण सवारी जामलगायतका समस्या भोग्नुपरिरहेको छ । निर्माणका क्रममा भएकाले सडक ठाउँठाउँमा भत्किएको छ, यात्रामा जोखिम छ ।सडकको काम ढिलो हुँदा यो समस्या धेरै लम्बिने देखिन्छ ।

आउँदो वर्षायाममा पोखरा–मुग्लिङ यात्रा थप कष्टकर बन्ने निश्चित छ । तनहुँमा मुख्य सडकमार्गको दुरावस्थाका कारण तनहुँको धेरै जसो बजार क्षेत्रमा ब्यपार लगायतका गतिविधिमा नकारात्मक प्रभाव परिरहेको छ । दुई वर्षअघि सुरु भएको उक्त सडक विस्तार तथा स्तरोन्नति सुस्त गतिमा हुँदा समस्या निम्तिएको हो ।

आयोजनाको पूर्वी खण्ड (मुग्लिन–जामुनेमा)हालसम्म भौतिक प्रगति ५१ प्रतिशत र पश्चिम खण्ड (जामुने–पोखरा)मा जम्मा १७ प्रतिशत पुगेको जनाइएको छ । पूर्वी खण्डको १४ किमि दुरीमा दुईतर्फी (चार लेन) र १२ किमिमा एकतर्फी (दुई लेन) सडक कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डमा पर्ने १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेको र तीनवटा निर्माणाधीन अवस्थामा रहेका छन् । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ । बाँकी ठाउँमा कालोपत्रका लागि बेस हाल्नेदेखि, कल्भर्ट, नाली, पर्खाललगायत पूर्वाधार तयारीका काम भइरहेको जनाइएको छ । ४१ दशमलव ४५ किमिको पूर्वी खण्डमा विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्नेछ ।

आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख राजेसप्रसाद पौडेलले उक्त सडक खण्डको काम सकिन अझै दुई वर्ष लाग्ने बताए । “हालसम्म पश्चिम खण्डको भौतिक प्रगति १७ प्रतिशत छ, कुनै अवरोध आएन भने दुई वर्षभित्र काम सकिन्छ”, उनले भने कतिपय ठाउँमा सडक दायाँबायाँका भौतिक संरचना, विद्युत् पोल, खानेपानी र सिँचाइका पूर्वाधार व्यवस्थापन गर्न काम बाँकी रहेको उनको भनाइ छ ।

पश्चिम खण्डमा हालसम्म साढे पाँच किमि सडक कालोपत्र भइसकेको जनाइएको छ । तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रको तयारी गरिएको प्रमुख पौडेलले जानकारी दिए । आगामी असारभित्र ३० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्यसहित आयोजनाको कामलाई गति दिइएको उनको भनाइ छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म ३८ दसमलव ८८ किमि दुरी रहेको पश्चिम खण्डको आधा सडक छ लेन र आधाजति चार लेनको बन्नेछ । आयोजनाको पश्चिम खण्डको निर्माण पूर्वी खण्डको भन्दा छ महिनापछि सुरु भएको थियो । सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार आदि हटाउन समय लागेकाले सडक निर्माणमा ढिलाइ भएको प्रमुख पौडेलले बताए ।

पश्चिम खण्डअन्तर्गत दुलेगौँडा र मुख्य बजार क्षेत्रको सडक ४६ मिटर हुनेछ । जामुनेदेखि कुम्लेखोलासम्ममा १८ मिटर र बाँकी खण्डमा २३ मिटर सडक कालोपत्र हुने जनाइएको छ । पश्चिम खण्डमा १२ वटा पक्की पुल र सयको हाराहारीमा कल्भर्ट बनिरहेको आयोजना कार्यालयले जनाएको छ । पोखराको सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छ ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको निर्माण ठेक्का लिएको हो । कुल ८१ किमि दुरीको सो सडक एसियाली विकास बैङ्कको अनुदान सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS