images
images
images

नेपालमा बर्सेनि तीन सयभन्दा बढी मिर्गौलाका बिरामी फेला पर्छन्

images

काठमाडौँ । नेपालमा हरेक वर्ष तीन सयभन्दा बढी मिर्गौलाका नयाँ बिरामी थपिने गरेका छन् । मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा। डा। प्रेम ज्ञवालीका अनुसार नेपालमा वार्षिकरुपमा साधरणतया ३५० देखि ४०० जना मिर्गौलाका नयाँ बिरामी फेला पर्ने गरेका हुन् ।

अस्वस्थ खानपान, रक्तचाप, मधुमेह, पत्थरी लगायत कारणले मिर्गौलामा समस्या देखिन्छ । हालसम्म नेपालमा के–कति मिर्गौलाका बिरामी छन् भने यकिन तथ्याङ्क सरकारी निकायसँग भेटिँदैन । तर सरकारी निकायबाट मिर्गौला रोगमा दिइने उपचारको सेवा लिएका करिब १५ हजार जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।

‘सबै स्वास्थ्य संस्थाबाट तथ्याङ्क सङ्कलन भएको छैन । तर मिर्गौला रोगको लागि सेवा लिनेको तथ्याङ्क हेर्ने हो भने लगभग १० देखि १५ हजारले सुविधा लिएका छन्,’ उनले भने, ‘निदान नभएका, निदान हुन नसकेका समाजमा लुकेका मिर्गौलाका बिरामी हुन सक्छन् । हामी कहाँ सिकिस्तै बिरामी भएमा, हिँड्न र काम गर्न नसक्ने भएमा मात्रै स्वास्थ्य परीक्षण गराउने बानी छ । त्यसकारणले यो तथ्याङ्कभन्दा ६ देखि ७ गुणा बढी नै बिरामी छन् भन्ने आङ्कलन गर्न सकिन्छ ।’

किन हुन्छ मिर्गौला खराब
सामान्यतया खानपानका कारणले मिर्गौला खराब हुने चिकित्सकहरूले बताएका छन् । पानी कम खानु, मद्यपान, धूम्रपान, दुखाई कम गर्ने औषधिको प्रयोग बढी गर्नले मिर्गौला खराब हुने जोखिम बढ्ने प्रवक्ता डा। बुढाथोकीले बताए । उनले भने, ‘यस्तै, यो रोग जेनेटिक पनि हुन सक्छ, आमाबाबुको मिर्गौलामा समस्या भएमा सन्तानमा पनि देखिन्छ ।’

यस्तै, रक्तचाप, मधुमेह, पत्थरी लगायत रोगहरूको कारणले पनि मिर्गौला बिग्रिने प्रा।डा। ज्ञवालीले बताए । ‘ब्लड प्रेसर, सुगर, जन्मजात रोगहरू, पत्थरी रोगहरूका कारणले मिर्गौला बिग्रने हो,’ उनले भने ।

मिर्गौला कसरी जोगाउने
जन्मजात नै मिर्गौलामा खराबी देखिएमा उपचारबाटै निको हुन्छ । तर अस्वस्थ बानीका कारणले हुने मिर्गौला खानपानमा सुधार गर्नुपर्ने चिकित्सकले सुझाएका छन् । मिर्गौला बिग्रिनुभन्दा पहिला रक्तचाप, मधुमेह, पत्थरी लगायतका रोगको नै उपचार गरेमा मिर्गौला खराब हुनबाट जोगाउन सकिने प्रत्यारोपण विशेषज्ञ प्रा।डा। ज्ञवालीले बताए ।

‘मिर्गौला बिग्रिनुभन्दा ब्लड प्रेसर, सुगर, जन्मजात रोगहरू, पत्थरी रोगहरूको राम्रो उपचार गर्‍यो भने एकदम कम हुन्छ,’ उनले भने, ‘मिर्गौला बिग्रेपछि शरीरबाट हानिकारक तत्त्व निकाल्नुपर्‍यो जसका लागि कि डाइलासिस गर्नुपर्‍यो कि मिर्गौला प्रत्यारोपण गर्नुपर्‍यो ।’

मिर्गौलालाई हानी पुर्‍याउने रक्तचाप, मधुमेह, पत्थरी लगायतका रोग लाग्न नदिने र लागि हालेमा समयमा उपचार गरेमा मिर्गौला जोगाउन सकिने ज्ञवालीले सुनाए । खानपान र नियमित रूपमा स्वास्थ्य जाँचमा ध्यान दिएको चिकित्सकको भनाई छ ।

‘जनचेतना फैलिरहेको छ, तर दूर दराजमा आफ्नो खानपनमा ध्यान दिन नपाएको, नियमित जाँच गर्न नपाउने भएकाले मिर्गौलाका बिरामी बढ्दो छन्,’ डा। बुढाथोकीले भने, ‘उहाँहरूले नियमित जाँच गर्नुपर्‍यो ।’

आज देशभर ‘विश्व मिर्गौला दिवस’ मनाइँदै छ । प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ ।

विश्वमा प्रत्येक १० जनामध्ये १ जनालाई मिर्गौला रोग लाग्ने तथ्याङ्क छ । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाइन्छ ।

अङ्ग प्रत्यारोपण गरेका प्रत्यारोपितहरू पनि अरू स्वस्थ व्यक्ति सरह जीवनयापन गर्न सक्षम रहेको जनचेतना जगाउने आयोजक समितिका संयोजक डा। कल्पना कुमारी श्रेष्ठले बताइन् । अङ्गदान र अङ्ग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको उनले उल्लेख गरिन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS