बन्दिपुर । हिजो आज साना विकास निर्माणको काममा पनि स्थानीय तहको मुख ताक्ने परम्परा बढेको छ । गाउँघरमा हुने साना तिना कुलो, कुलेसो, गोरेटो, कुवा आदिको निर्माण र मर्मतकोलागि पनि स्थानीय तहकै भरपर्नु पर्ने परम्पराको विकास भएको छ । श्रमदान वा श्रम शिविरबाट सबै गाउँलेहरु जम्मा भएर एक÷दुई दिनमा सकिने कामकोलागि गाउँपालिकाको मुख ताक्ने प्रबृत्तिले विकासको कामहरु सोचे अनुसार भएको छैन ।
त्यसैकारण बन्दिपुर गाउँपालिकाले आफ्नो गाउँ ठाउँको विकासको लागि स्थानीय बासिन्दालाई नै सरिक गराउने र विकास निर्माणको काममा उनीहरुको अपनत्वको भावना विकास गराउन श्रमदानको अवधारणा ल्याएको छ । यसको नेतृत्व गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले नै गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष थापाको नेतृत्वमा शनिबार वडा नम्बर ४ को खहरे विरुवाटारमा पचासौं गाउँलेहरु श्रमदानमा सरिक भए । विरुवाटारमा सिंचाईको सविधा पु¥याउनको लागि कुलो खन्न अध्यक्ष थापा श्रमदानमा गाउँलेहरुको नेतृत्व गर्दै श्रम क्षेत्रमा उत्रिएका थिए । उनी शनिबार हातमा गैंटी र बेल्चा लिएर काममा खटिए ।
गाउँपालिकाका अध्यक्ष नै गैंटी र बेल्चा लिएर काममा खटिएपछि सबै गाउँलेहरु पनि उत्साहित भएर दिनभर काममा खटिएका थिए । विरुवाटार खहरेमा थोपा सिंचाई मार्फत तरकारी लगायत नगदेबालीको खेती गरि गाउँलेहरुको जिवनस्तर सुधार्ने योजना अन्तर्गत गाउँलेहरुको प्रतक्ष्य श्रमदानमा १३ सय मिटर लामो लागि कुलो खनिएको हो ।
पछिल्लो समय श्रमदान प्रति गाउँलेहरुमा चासो नभएको र सबैले गाउँपालिकाकै मुख ताक्ने प्रबृत्ति बढेपछि विकास निर्माणमा गाउँलेहरुको प्रतक्ष्य सहभागिता गराउन आफैले श्रमदानको नेतृत्व गरेको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाको नेतृत्वमा सबै गाउँलेहरु, राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधरणलाई पनि श्रमदानमा आएका थिए ।
गाउँपालिका अध्यक्ष नै श्रम शिविरमा आएपछि सबै गाउँलेहरु काम गर्न आएको आशमाया विकले बताईन् । कुलो खन्न सबैले गैंटी, कोदालो, कुटो, हसिया र बेल्चा लिएर श्रमदानमा आएको उनले बताईन् । उनका अनुसार उक्त कार्यमा प्रत्येक घरबाट सहभागिता रहेको छ ।
डा नम्बर ६ बाट उक्त श्रमदानमा सहभागी भएका काशिनाथ भट्टराईले पनि गाउँपालिकाका अध्यक्षको आह्वानमा आफु आईतबार श्रमदानमा सहभागी हुन आएको बताए । श्रमदानको परम्परा हटिसकेको अवस्थामा बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले यसको सुरुवात गरेर सबै गाउँलेलाई विकासमा अपनत्वको भावनाको विकास गरेको भट्टराईले बताए ।