दमौली
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले राष्ट्रपतिको चुनाव पछि कांग्रेस झन् कमजोर हुने अवस्था सृजना हुन लागेको बताएका छन् । विपी विचार समाज तनहुँले मंगलबार दमौलीमा गरेको भेलालाई सम्बोधन गर्दै जोशीले सो कुरा बताएका हुन् ।
कम्युनिष्टहरुले शक्तिको बाडफाँड गरेर पार्टी एकताको लागि अघि बढीरहेकोले राष्ट्रपतिको चुनाव पछि कांग्रेस झन् कमजोर हुने अवस्था आउने नेता जोशीले बताएका हुन् । । सबै कम्युनिष्ट पार्टीलाई एक बनाई कांग्रेसलाई कमजोर बनाउने खेल भईरहेको कांग्रेस कमजोर हुने अवस्था आएको नेता जोशीले बताए । रणनीति र कुटनीति विना पार्टी चल्न नसक्ने उल्लेख गर्दै नेता जोशीले हालको नेतृत्वले समय र परिस्थिती अनुसार चल्न नसकेकोले कमजोर बन्दै गएको बताए । रणनीति र कुटनीतिमा सफल भएको भए कांग्रेस सरकार हुने थियो त्यस्तै गरी राष्ट्रपति निर्वाचनमा पनि असफल हुने दिशामा कांग्रेस अघि बढेको जोशीले बताए । पार्टी भित्र एक्लो निर्णय गर्ने प्रवृति बढेकाले यसले हित नगरेको उनको भनाई थियो । सामुहिक निर्णयबाट अघि बढ्दा संगठन बलियो हुने नेता जोशीले बताए। ।
कार्यक्रममा विपी विचार समाजका केन्द्रीय सदस्य शुुकुमलाल गुरुङले नेता जोशीले आफ्ना कार्यकर्ताको संरक्षण गर्दै आएको र दुःखको बेला सहयोग गर्नेलाई झन् ध्यान दिएर मद्धत गर्नु पर्ने बेला आएको बताए। समाजका गण्डकी प्रदेशका सचिव परशुराम गिरीले जोशी समुहले आफ्नो पहिचान कायम राख्न सफल भएको उल्लेख गर्दै विचलित नभईकन एकले अर्कोलाई सहयोग गरेर निर्धक्कका साथ गन्तव्यमा पुग्नु पर्ने बताए। कार्यक्रम विपी विचार समाज तनहुँका अध्यक्ष हरिशरण पण्डितको अध्यक्षतामा भएको थियो । सो अवसरमा समाजका सल्लाहकारहरु ऋषिराम पोख्रेल, डा.विद्युत केशरी न्यौपाने, युवा नेता दीपकराज जोशी, समाजका उपसभापति रेशमलाल गुरुङ, सदस्यहरु रघुबहादुर केसी, रामदेव पन्थ, ईन्जिनियर दीर्घबहादुर थापा, केशमाया गुरुङ केसु, दिलमाया गुरुङ, समाजका व्यास नगर सचिव कृष्णप्रसाद सोती लगायतले व्यक्तिगत स्वार्थमा कांग्रेसका नेताहरु लागेकाले नेता जोशीको नेतृत्वमा रहेका कार्यकर्ताहरु नै शुद्ध र चोखो कांग्रेस भएको महशुस भएको उल्लेख गर्दै यही समुहले नै देश, राष्ट्र र समाजको चिन्ता लिएकोले निर्भिक तरिकाले अघि बढ्न जरुरी रहेको कुरामा जोड दिए ।