images
images
images

तनहुँका पाँच वटा मतदानस्थल अति संवेदनशील, अनुगमन सुरु

images

तनहुँ । तनहुँका ५ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले गरेको मतदानस्थलको वर्गीकरण अनुसार ५ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन् ।

जिल्लाका कुल १३६ वटा मतदानस्थल मध्ये ५ वटा मतदानस्थल अति संवेदनशील, ३८ वटा संवेदनशील र ९३ बाँकी समान्य रहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिए ।

अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए । अति संवेदनशील मतदानस्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिने उनले बताए । साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन् ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा तनहुँमा मतदानस्थलको अनुगमन सुरु गरेको प्रजिअ अर्यालले बताए । जिल्लाको विभिन्न स्थानको मतदानस्थलको अनुगमन गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।

जिल्लामा अघिल्लो निर्वाचनमा पनि १३६ मतदानस्थल र २५२ मतदान केन्द्र थिए । अहिले मतदान स्थल पहिले जति नै भएतापनि मतदान केन्द्र भने २९७ वटा पुगेको छ । तनहुँमा दुई लाख ४४ हजार ३४० जना मतदाताको नामावली सार्वजनिक भएको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए ।

जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् । एक लाख चार हजार ३२७ महिला र ९० हजार १४४ पुरुष गरेर २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS