तनहुँ । तनहुँमा म्यादी प्रहरीका लागि मागभन्दा तीन गुणा बढी आवेदन परेकाे छ । एक हजार २९२ जना कोटा रहेकाेमा ३ हजार ४१८ जनाले आवेदन दिएका हुन् ।
आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन जिल्लामा तीन गुणा बढीको आवेदन परेको हो । गत चैत ६ गतेदेखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा तनहुँमा मागभन्दा तीन गुणा बढीको आवेदन परेको हो ।आवेदनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा दिइने जनाइएको छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने र शारीरिक तथा मानसिकरूपमा तन्दुरुस्त रहेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नवापत सात हजार २००, पोशाक र अन्य खर्च गर्ने गरी रु छ हजार, यातायात खर्चवापत रु एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
छनोट प्रक्रिया भने १५ चैतदेखि प्रारम्भ भएको छ । नतिजा २२ चैतसम्म प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ । निर्वाचनका लागि देशभरबाट १ लाख म्यादी प्रहरीको माग गरिएको हो ।