तनहुँ
नेकपा एकीकृत समाजवादी तनँहुका युवा नेता श्रीराम पौडेलले आउँदो स्थानीय चुनावमा भानु नगरपालिकाको मेयरमा उम्मेदवारी दिने चर्चा चुलिएको छ ।
आउँदो वैशाख ३० गते हुने स्थानीय चुनावमा पौडेल भानु नगरपालिकाको मेयरको प्रतिस्पर्धामा उत्रिने चर्चा तनँहुमा चुलिएको छ । पौडेलले उम्मेदवारी दिने सम्भावनालाई उनले केही दिनअघि सामाजिक सञ्जालमा गरेको एउटा पोष्टले समेत पुष्टि गरेको छ ।
पौडेलले फेसबुकमा लेखेका छन् , “स्थानीय सरकार गाउँघरको सरकार हो । संघीय गणतन्त्रले नेपाली जनतालाई दिएको ठूलो उपहार शक्तिशाली स्थानीय सरकार पनि हो । त्यसैले जनताको दरदैलोको सरकारको नेतृत्व लिन आफ्नो क्षेत्रमा अब्बल रेकर्ड बनाएको उम्दा र योग्यतम व्यक्ति अग्रसर नहुने हो भने आउँदो पाँच वर्ष जनताले फेरि अक्षम र नालायक पात्रबाट शासित हुन बाध्य हुनुपर्छ । तसर्थ सकारात्मक सोंच, समाजको अग्रगामी र दीगो रुपान्तरण अनि जनताको जीवनमा सुख र खुशियाली ल्याउने दृष्टिकोण भएको सक्षम व्यक्तिलाई चुन्न र चुनिन प्रेरित गरौं । अहिले सोचौं, सबैले सोचौं र मिलेर हातेमालो गरौं ।”
पछिल्लो समय पौडेल नेकपा एकीकृत समाजवादीको तनँहुका राजनीतिक कार्यक्रम र भानु नगरपालिका पार्टी भेला तथा कार्यक्रममा सक्रिय देखिएका छन् । उनी नेकपा एकीकृत समाजवादीको तनहु जिल्ला सचिवालय सदस्य तथा काठमाडौ तनहँु सम्पर्क मञ्चका अध्यक्ष हुन् । यसअघि उनी नेकपा एमालेमा सक्रिय थिए । केपी ओलीको कदमको खरो आलोचक रहेका उनी शैक्षिक परामर्श व्यवसायी हुन् । आफ्नो उम्मेदवारीको सम्भवाना बारे पौडेले भने “पार्टीले दिएको हरेक जिम्मेवारीलाई मैले अहिलेसम्म इमान्दारीको साथ पुरा गरेको छु । यदि मेरो पार्टीले मलाई मेयरको उम्मेदवारको रुपमा अघि बढायो भने म भानुवासी जनताको जीवनमा आमूल परिवर्तन र खुशियाली ल्याउनका लागि आफ्नो सम्पूर्ण सामाथ्र्य परिचालन गर्न तत्पर छु । भानुवासी जनता र युवा साथीहरुले चाहिँ भानुको मेयरमा उम्मेदवारी घोषणा गर्न मलाई घच्घच्याई रहनु भएको छ । तर, म पार्टी निर्णयको प्रतीक्षामा छु ।”
विद्यार्थी कालमै अनेरास्ववियुमार्फत राजनीतिमा प्रवेश गरेका पौडेलले विभिन्न माध्यमबाट आफूलाई समाजसेवामा सक्रिय तुल्याएका छन् । यसअघि पौडेलले नेपाल जेसीजको मुख्य तालिम आयुक्त, सन् २०१८ को राष्टूीय महासचिव तथा बाजाजु जेसिजका संस्थापक अध्यक्षको रुपमा काम गरी सकेका छन् । उनी तनँहुको भानु नगरपालिका वडा नं ८ का बासिन्दा हुन् । उनी एमालेकालदेखि नै पूर्वप्रधानमन्त्री माधव नेपाल निकट मानिन्छन् ।
पौडेल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठका पनि विश्वास पात्र मानिन्छन् । पौडेल भन्छन् “पाँच दलीय गठबन्धन सरकारकातर्फबाट हामीले भानु नगरपालिकालाई प्राथमिकतामा राखेर जनताको आवश्यकता अनुसारको योजना, नीति तथा कार्यक्रम र बजेट परिचालन गरेका छौं ।
भानुभक्तको जन्मथलोलाई देशको उत्कृट पर्यटकीय गन्तव्य बनाउने गरी योजना अघि सारेका छौं । त्यसको नतिजा निकट भविष्यमा देखिने छ ।समृद्ध भानु नगरपालिका र खुशी भानुवासी जनता हुन । ” एकिकृत समाजवादी बाट पुराना नेता विद्या ढकाल,ऋषिराम पन्त लगायत मेयरको उम्मेदवारको रुपमा चर्चा हुने गरेको छ ।