तनहुँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा घोषणा गरिएको नेपाल बन्द सफल पार्न खटिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्तालाई तनहुँ प्रहरीले मंगलबार बिहानै दमौली बजारबाट पक्राउ गरेको छ ।
प्रहरीले बिहान करिब साढे ५ बजे सो पार्टीका जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओमविक्रम पन्त, मजदुर संगठनका जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तीकारीका जिल्ला सचिव शिव सदाशंकर, मगर मुक्तिमोर्चाका जिल्ला सदस्य रणविर राना लगायत ११ जना लगायत नेता कार्यकर्तालाई पक्राउ गरेको सो पार्टीका जिल्ला इन्चार्ज पुर्णजित पुनले जानकारी दिए ।
दमौली ट्राफिक चोकबाट उनीहरु पक्राउ परेक थिए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध शान्तिपूर्ण बन्दको तयारी हुँदै गर्दा नेता कार्यकर्ता पक्राउ गरिएको पुनले बताए ।
उनले पक्राउ परेका सबै नेता कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग गरे ।
तनहुँमा बिहानै देखी बन्दको प्रभाव परेको छ । जिल्लामा बजार पनि खुलेको छैन ।
यात्रुबाहक सवारी साधन र मालबाहक साधनलाई तनहुँ प्रहरीको स्कर्टिङ गरि जिल्ला पार गराएको छ ।