तनहुँ । राष्ट्रिय जनगणना २०७८ का लागी तनहुँ जिल्लाका गणकहरूका लागि ४ दिने तालिम शनिबारदेखि सुरु भएको छ ।
गणना गर्दा अपनाउनुपर्ने रणनीतिका बारेका जानकारी दिने उद्देश्यले सो तालिमको आयोजना गरिएको जिल्ला जनगणना कार्यालय तनहुँले जनाएको छ ।
जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा संचालित तालिममा ४९० जना गणक र नयाँ ३२ जना सुपरिवेक्षकको सहभागिता रहेको जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए ।
सुपरिवेक्षकहरूले प्रारम्भिक लगत सङ्कलन गरी गणना क्षेत्र निर्धारण गरिएको र उक्त विवरण सहित गणकहरू मुल गणना कार्त्तिक २५ गतेदेखि मङ्सिर ९ गते सम्मका लागि घरदैलोमा खटाइने जनगणना अधिकारी सापकोटाले बताए ।
‘मेरो गणना, मेरो सहभागीता’ भन्ने नाराका साथ १२औं राष्ट्रिय जनगणना संचालन हुन लागेको हो । गणना क्षेत्र तोकेर गणकलाई खटाइने उनले जानकारी दिए ।
अब हुने गणना दोस्रो चरणको जनगणना हो । जसमा गणकहरूमार्फत् प्रत्येक घर परिवारमा पुगी प्रश्नावलीमार्फत् पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइ लगायत विवरणहरू संकलन गरिनेछ।
दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत् वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता, पूर्वाधार र विपदसम्बन्धी विवरण पनि संकलन गरिने छ ।
सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि संकलन हुनेछ।
जनगणनाबाट वडास्तरसम्मको लैंगिक तथा समावेशी तथ्यांक प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रमहरू तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिँचाइ, खाद्यान्न आपूर्ति, बसोबासको व्यवस्था, विकास बजेटको बाँडफाँट, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा र मानव विकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रमहरू सञ्चालन गर्न तथा संविधानको मौलिक हकलगायत अन्य हकहरूको कार्यान्वयन र मूल्यांकन गर्न आवश्यक तथ्यांक प्राप्त हुने हुँदा जनगणनाको महत्व रहेको छ।
अघिल्लो जनगणनामा भन्दा यस पटक ८ वटाभन्दा बढी आधारभूत प्रश्नहरू राखिएको उनको भनाई छ ।
राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो । नेपालमा वि.स. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो ।