काठमाडौँ । तिब्बत क्षेत्रबाट सुरु भई आज बिहान त्रिशूली नदीमा आएको विनाशकारी बाढीले तल्लो तटीय क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । बाढीको वास्तविक कारण र यसले पुर्याएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ ।
चिनियाँ एकेडेमी अफ साइन्समा कार्यरत हिमताल र हिम बाढी जोखिमका अनुसन्धानकर्ता नितेश खड्काका अनुसार चिनियाँ सहकर्मीहरूसँगको प्रारम्भिक छलफलका आधारमा नेपाल–चीन सीमा क्षेत्रको तिब्बततर्फ एउटा ठुलो हिम पहिरो (आइँस एभलाञ्च) आएर नदी थुनिएको हुनसक्ने अनुमान गरिएको छ ।
तिब्बतको जिलोङ काउन्टी (केरुङ क्षेत्र) मा पर्ने दोङलिङ साङ्पो (पेलियन) खोलामा पहिरो खसेर केही समय नदी थुनिएपछि ताल बनेको र सोही ताल फुट्दा त्रिशूलीमा अचानक ठुलो बाढी आएको हुन सक्ने उनले बताए । यद्यपि, यस क्षेत्रमा साना–साना हिमतालहरू मात्र रहेकाले एउटै हिमताल फुटेर मात्र यति ठुलो विनाश नहुनुपर्ने खड्काको भनाइ छ ।
यस बाढीको प्रकृतिलाई भारतको चामोलीमा भएको ठुलो हिम पहिरोको घटनासँग तुलना गर्दै खड्काले यसलाई ठुलो स्तरको विनाशका रूपमा व्याख्या गरेका छन् । सिक्किमको दक्षिण लोनाक ताल फुटे जस्तै ठुलो ताल त्रिशूलीको तल्लो वा माथिल्लो तटीय क्षेत्रमा नभएकाले यो विपद् विभिन्न कारणहरूको संयुक्त प्रभाव हुन सक्ने उनको विश्लेषण छ । वर्षायाम भएका कारण नदी थुनिँदा पनि तल्लो तटीय क्षेत्रमा पानीको बहाव घटेको तत्काल थाहा नभएको हुन सक्ने र पछि ताल फुट्दा विनाशकारी रूप लिएको हुन सक्ने उनले उल्लेख गरे ।
यस क्षेत्रको वस्तुस्थिति बुझ्न भू–उपग्रह (स्याटेलाइट) चित्रहरूको सहयोग लिइरहेको जानकारी दिँदै खड्काले क्लाउड (बादल) नभएको अवस्थामा क्षेत्रको स्पष्ट तस्बिरहरू आउने र त्यसले थप स्पष्टता दिने बताए ।
खड्काका अनुसार सन् १९५० को दशकदेखि तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा हिमतालहरू बन्ने र फैलिने क्रम तीव्र भएको छ । सन् १९८७ देखि २०१७ सम्मको अध्ययनले हिमतालहरूको क्षेत्रफल २५ प्रतिशतले बढेको देखाएको जानकारी दिँदै उनले यी हिमतालहरू ‘टाइम बम’ जस्तै भएको र यिनीहरू जुनसुकै बेला फुट्न सक्ने खतरा रहेको बताए ।
त्रिशूली, भोटेकोसी, तामाकोसी, मर्स्याङ्दी र अरुण जस्ता नदीहरूको ठुलो जलाधार क्षेत्र तिब्बतमा रहेकाले नेपालमा बाढीको जोखिम सधैँ उच्च रहने उनले स्पष्ट पारे ।रातोपाटी















