काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जनसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मलेखुस्थित फुर्के जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ र यो अझै बढ्दो क्रममा रहेको छ।
नदीमा जलसतह लगातार बढेपछि महाशाखाले नदी आसपासका डुबान जोखिम क्षेत्रमा बसोबास गर्ने बासिन्दा तथा सो करिडोर भएर यात्रा गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बुधबार बिहान ११ : २६ बजे महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘रसुवा भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदी फुर्के जलमापन केन्द्रमा जनसतहले सतर्कता तह पार गरेको छ।’
नदीको बहाव अझै बढ्दै गएकाले तटीय क्षेत्रमा डुबानको खतरा रहेको भन्दै महाशाखाले थप स्पष्ट पारेको छ, ‘सतर्कता तह पार गरी जलसतह बढ्दो क्रममा रहेकाले नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा र करिडोर भई यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउनुहोला।’ रातोपाटी















