४ भदौ, बारा । तीन वर्षीया बालिका हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडकमा अवरोध कायमै रहेको छ ।
घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने लगायतका माग राखेर स्थानीयले बाराको सिमरामा प्रदर्शन गरेका कारण उक्त सडक खण्ड बुधाबर दिउँसो यता अवरुद्ध बनेको छ ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार अवरुद्ध सडक खुलाउने विषयमा बुधबार पटकपटक छलफल भए पनि आन्दोलनरत पक्षले अघि सारेका माग सम्बोधन गर्न नसक्ने अवस्था आएपछि नतिजा निस्कन नसकेको हो ।
‘बुधबार राति ११ बजेसम्म भएको छलफलमा आन्दोलनरत पक्षले डीएसपी सा’बलाई निलम्बन गर्नुपर्ने माग राख्नुभयो, जुन हाम्रो तहबाट सम्बोधन हुनसक्ने बिषय होइन,’ भट्टराईले भने ।
बलात्कारपछि हत्या गरिएकी जीतपुरसिमरा उपमहानगरपालिका-१ की गरिमा चौधरीको हत्यामा संलग्न व्यक्ति पक्राउ परिसके पनि प्रहरीले खोजीमा आवश्यक समन्वय नगर्दा घटना भएको आरोप आन्दोलनरत स्थानीयले लगाएका छन् ।
इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदा पनि खोजीमा चासो नदिँदा बालिकाको हत्या भएको भन्दै स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तनको माग अघि सारेका छन् ।
प्रहरीले बालिका हराएको तीन दिनसम्म खोजी गर्न नसकेको, परिवारले किटानी जाहेरी दिएको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको आरोप स्थानीयको छ ।
स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । मंगलबार साँझ शव भेटिएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । परिवारले शव भेटिनु अघि नै सोही २ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।अनलाइनखबर















