बन्दिपुर
नेपाली कम्युनिष्ट पार्टी नेकपा बन्दिपुरले तनहुँको बन्दीपुर गाउँपालिकास्थित मिनी ग्रेटवाल–मणिमुकुन्द पार्क–थानीमाई मन्दिर क्षेत्रको बुधबार सरसफाइ अभियान सञ्चालन गरेको छ।
अभियानमा करिब एक सय जना नेता–कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले मिनी ग्रेटवाल देखी थानीमाई मन्दिरसम्मको क्षेत्रको सरसफाइ गरेका थिए।

कार्यक्रममा नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य तथा बन्द्यिपुर गाउँपालिकाका पुर्व अध्यक्ष पूर्णसिंह थापा नेकपा गण्डकी प्रदेश सदस्य सुदिन पौडेल, नेकपा बन्दीपुर गाउँपालिका अध्यक्ष ध्रुव लामिछाने, उपाध्यक्ष अमृत शाही, बन्दिपुर गाउँपालिका वडा नं. २ का अध्यक्ष तिलक कुँवर लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

सार्वजनिक स्थल, सडक, पाटी–पौवा तथा धार्मिक एवं पर्यटकीय क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ अभियान सुरु गरिएको नेकपा गण्डकी प्रदेश कमिटी सदस्य सुदिन पौडेलले बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिइने जानकारी दिए।
पौडेलले बन्दीपुरको प्रमुख पर्यटकीय आकर्षणका रूपमा विकास गर्न थालिएको मिनी ग्रेटवाल निर्माण कार्यले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै तीनै तहका सरकारले पर्याप्त बजेट विनियोजनमा चासो नदिएको आरोप लगाए। सरसफाइ अभियानमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन खोजिएको उनको भनाइ थियो।
उनले बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि मिनी ग्रेटवाल निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था गरी कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरे।

नेकपाले सामाजिक अभियान अन्तर्गत आगामी दिनमा पनि सार्वजनिक क्षेत्र, सडक, पाटी–पौवा तथा अन्य सामुदायिक स्थलहरूको सरसफाइ कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने जनाएको छ।















