दुलेगौँडा, असार ३०। लियो क्लब अफ दुलेगौँडा खैरेनी सिटीको आयोजनामा डीजीलिङ्क लियो ब्याडमिन्टन प्रतियोगिता–२०८३ साउन १ र २ गते खैरेनीटारस्थित मगर समाज भवनमा आयोजना हुने भएको छ।
“प्रतिभालाई अवसर, खेललाई सम्मान” भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रतियोगितामा १९ वर्षमुनिका छात्र, १३ वर्षमुनिका छात्र तथा १९ वर्षमुनिका छात्रा (खुला) गरी तीन विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।
प्रतियोगिता एकल (सिङ्गल्स) विधामा सञ्चालन हुनेछ। प्रत्येक विधामा सहभागी हुन रु. २०० दर्ता शुल्क निर्धारण गरिएको छ। विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्, जसअनुसार प्रथम हुनेले रु. ५ हजार, द्वितीय हुनेले रु. ३ हजार र तृतीय हुनेले रु. २ हजार पुरस्कार प्राप्त गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी खेलाडीले दर्ता शुल्कको रसिदसँगै जन्मदर्ता प्रमाणपत्र, नागरिकता वा विद्यालयको परिचयपत्रमध्ये कुनै एक आधिकारिक परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। साथै, प्रतियोगिताका लागि अनलाइनमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ।
प्रतियोगिताबारे थप जानकारीका लागि आयोजकले पोस्टरमा उल्लेख गरिएका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ।















