images
images

इरानका दिवंगत सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

images

इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा बढी समयपछि देशकै सबैभन्दा पवित्र शिया तीर्थस्थलमा दफन गरिएको छ ।

सरकारी सञ्चारमाध्यमहरूले शुक्रबार बिहान खामेनीलाई उनको जन्मस्थान मशहदस्थित इमाम रेजाको दरगाहमा दफन गरिएको जनाएका छन् । विशाल सुनौलो गुम्बज र सुनले मढिएका मिनारहरूले सजिएको यो धार्मिक परिसर शिया मुस्लिमहरूको सबैभन्दा महत्वपूर्ण तीर्थस्थलमध्ये एक मानिन्छ ।

दफन प्रक्रिया निजी रूपमा सम्पन्न गरिएको भए पनि त्यसअघि एक सातासम्म सार्वजनिक श्रद्धाञ्जली र शवयात्राहरू आयोजना गरिएका थिए । ती कार्यक्रममा करिब एक करोड ५० लाखभन्दा बढी मानिस सहभागी भएको र इरानी अनुमानअनुसार भने यो संख्या तीन करोडभन्दा बढी हुन सक्ने बताइएको छ ।

तर अन्त्येष्टिका क्रममा खामेनीका छोरा तथा वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी भने सार्वजनिक रूपमा देखिएनन् । उनी फेब्रुअरी २८ मा तेहरानको केन्द्रमा रहेको खामेनीको निवासमा भएको अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि सार्वजनिक रूपमा नदेखिएको बताइएको छ । उक्त आक्रमणमा खामेनी मारिएका थिए । त्यसलाई अमेरिका–इजरायल तथा इरानबीचको युद्धको सुरुआतका रूपमा हेरिएको छ ।

खामेनीको अन्त्येष्टि सुरुमा मार्च महिनामै गर्ने योजना थियो । तर युद्धका कारण त्यो स्थगित गरिएको थियो ।

सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम गत शनिबार तेहरानको ग्रान्ड मोसल्ला धार्मिक परिसरबाट सुरु भएको थियो । त्यहाँ खामेनीको शव राखिएको कफिन सर्वसाधारणका लागि प्रदर्शन गरिएको थियो । कार्यक्रममा गाजास्थित हमास र इस्लामिक जिहाद, लेबनानको हिजबुल्लाह तथा यमनका हुथी समूहका प्रतिनिधिमण्डल पनि सहभागी भएका थिए । भोलिपल्ट त्यही मस्जिदमा अझ ठूलो भीड जम्मा भएको थियो ।

सोमबार कम्तीमा एक करोड २० लाख मानिस तेहरानका सडकमा उत्रिएका थिए । खामेनीको कफिन ट्रकको पछाडि राखेर करिब १० किलोमिटर लामो शवयात्रा निकालिएको थियो, जुन इस्लामिक क्रान्ति (१९७९) यताकै सबैभन्दा ठूलो सार्वजनिक जमघट हुने स्थल आजादी स्क्वायरसम्म पुगेको थियो ।

मंगलबार पवित्र सहर कोममा पनि हजारौं मानिसहरुले अर्को शवयात्रामा सहभागिता जनाएका थिए । त्यसपछि खामेनीको कफिन इराक लगिएको थियो । बुधबार नजफ—शिया इस्लामको तेस्रो सबैभन्दा पवित्र सहर र त्यसपछि कर्बलामा पनि शवयात्रा निकालिएको थियो ।

प्रतिशोधको माग

बिहीबार बिहान खामेनीको शव विमानमार्फत मशहद पुर्‍याइएको थियो । त्यसपछि अन्तिम शवयात्राका लागि ट्रकमा राखिएको थियो । युद्ध सुरु गराएको हवाई आक्रमणमा खामेनीसँगै मारिएका उनका परिवारका चार सदस्यको कफिन पनि सँगै निकालिएको थियो ।

कालो पोशाकमा रहेका शोकाकुलहरू इरानी झण्डा, स्वर्गीय खामेनीका तस्बिर तथा क्रान्तिकारी नारासहितका रातो प्लेकार्ड बोकेर शवयात्रामा सहभागी भएका थिए ।

उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिशोधको माग गर्दै नाराबाजी पनि गरेका थिए ।

‘सर्वोच्च नेताको रगतको कसम, ट्रम्प, हामी तिमीलाई मार्नेछौँ,’ भन्दै उनीहरूले नारा लगाएका थिए । केही महिलाले ‘ट्रम्पलाई मार’ लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

अन्तिम चरणमा भीड अत्यधिक बढेपछि ट्रक अघि बढ्न नसकेकाले खामेनीको कफिन हेलिकोप्टरमार्फत इमाम रेजाको दरगाह पुर्‍याइएको थियो । खामेनीले त्यहीँ दफन हुने इच्छा व्यक्त गरेका थिए ।

खामेनीको दफन हुनुभन्दा केही घण्टा अघि इरानको एक आणविक ऊर्जा केन्द्र रहेको बुशेहर नजिकैको चोगादाक क्षेत्रमा धेरै विस्फोटको आवाज सुनिएको मेहर समाचार एजेन्सीले जनाएको छ । दक्षिणी सहर कोनारकमा पनि थप तीनवटा विस्फोट भएको समाचारमा उल्लेख छ ।

तर अमेरिकी केन्द्रीय कमान्डले पछिल्ला केही घण्टामा अमेरिकी सेनाले इरानमा कुनै पनि आक्रमण नगरेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिका र इरानले जुन १७ मा युद्ध रोक्ने उद्देश्यसहित प्रारम्भिक सहमति गरेका थिए । त्यसअनुसार स्थायी सम्झौताका लागि वार्ता जारी राख्ने भनिए पनि युद्धविराम पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । त्यसैले दुवै पक्षबीच पटक–पटक आक्रमण र प्रत्याक्रमण हुँदै आएको छ ।

मंगलबार इरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरूमध्यमा तीनवटा तेल ट्यांकरमाथि आक्रमण गरेपछि अमेरिकी सेनाले लगातार दुई रात इरानमा आक्रमण गरेको थियो । त्यसपछि बुधबार अंकारामा आयोजित नेटो शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले युद्धविराम समाप्त भएको घोषणा गरेका थिए ।

उनले भनेका थिए, ‘मेरो विचारमा यो समाप्त भइसकेको छ । म अब उनीहरूसँग व्यवहार गर्न चाहन्नँ । उनीहरू घृणित मानिस हुन्…।’

अमेरिकी हवाई आक्रमणको जवाफमा इरानले कुवेत, बहराइन, कतार र जोर्डनमा रहेका अमेरिकीसँग सम्बन्धित लक्ष्यहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । यद्यपि पछिल्ला झडपका बाबजुद दुवै पक्षले फेरि पूर्ण स्तरको युद्ध सुरु गर्ने कुनै स्पष्ट संकेत नदिएको अलजजिराले जनाएको छ ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS