images
images

तनहुँमा बर्डफ्लुको जोखिम बढ्दै, सतर्कता अपनाउन भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालयकाे अपिल

images

तनहुँ।काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्लामा पन्छीहरूमा बर्डफ्लु रोग फैलिएसँगै तनहुँ जिल्लामा पनि सो रोग भित्रिन नदिन भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले सतर्कता अपनाउन अपिल गरेको छ।

कार्यालयले असार २४ गते सूचना जारी गर्दै रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो।

कार्यालयका अनुसार पन्छी फार्मको परिसरमा जैविक सुरक्षा विधिहरू कडाइका साथ पालना गर्न, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोग नगर्न र दुवानीको साधनलाई फार्मभित्र प्रवेश गराउँदा अनिवार्य रूपमा निसंक्रमण गरेर मात्र प्रवेश गराउनुपर्ने जनाइएको छ। त्यस्तै काग लगायतका जंगली पन्छीहरूसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिने गरी र पन्छीको दाना लसपस हुन नदिने गरी पन्छीपालन गर्न पनि कार्यालयले सुझाव दिएको छ।

पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ। कार्यालयले पन्छीहरूमा अन्य संक्रामक रोगहरू विरुद्ध नियमित रूपमा खोप लगाउनुपर्नेमा पनि जोड दिएको छ। यदि पन्छीहरूमा संक्रमण पुष्टि भएर मरेमा त्यसलाई तत्काल गहिरो खाडलमा पुरेर नष्ट गर्नुपर्ने र फार्ममा निसंक्रमण गरी प्राविधिकको सल्लाह अनुसार आवश्यक रोग नियन्त्रण विधि अवलम्बन गर्नुपर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका प्रमुख रबिन्सन अधिकारीले जानकारी दिनुभएको छ।

यसैबीच कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्त नजिकैको पशु सेवा शाखा वा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको सम्पर्क नम्बर ०६५-५६३२०५ र ९८५६०६५२०९ मा खबर गर्न कार्यालयले अनुरोध गरेको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS