images
images

व्यास नगरपालिकाद्वारा १ अर्ब ५० करोड बढीको बजेट प्रस्तुत

images

दमौली,तनहुँ।
व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५० करोड २० लाख एक हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाको ४५औँ नगरसभा अधिवेशनमा उपप्रमुख इन्दिरा दरैले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमध्ये चालुतर्फ एक अर्ब दुई करोड ३७ लाख ६२ हजार रुपैयाँ अर्थात् ६८.१६ प्रतिशत र पुँजीगततर्फ ४७ करोड ८२ लाख ३९ हजार रुपैयाँ अर्थात् ३१.८४ प्रतिशत विनियोजन गरिएको छ ।
नगरसभाको अध्यक्षता नगर प्रमुख वैकुण्ठ न्यौपानेले गर्नुभएको थियो। सभामा नगर प्रमुख न्यौपानेले चालु आर्थिक वर्ष २०८२/०८३ का उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षका लागि ३१३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरसभा सदस्यहरूले दिएका सुझाव समेटेर नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ ।
सभामा नगर आर्थिक विधेयक, २०८३ र विनियोजन विधेयक, २०८३ पेश गरिएको छ। त्यसैगरी विधायन समितिका संयोजक रमेशचन्द्र हड्खलेले व्यास नगर ऊर्जा विकास विधेयक, २०८३ स्वीकृतिका लागि प्रस्तुत गरेका छन् ।
प्रस्तावित बजेट, नीति तथा कार्यक्रम, विभिन्न विधेयक तथा विषयगत समितिका प्रतिवेदनमाथि विस्तृत छलफल गर्न नगरसभाको अर्को बैठक असार २७ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।
नगर प्रमुख न्यौपानेले आगामी बैठकबाट बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिइने बताउँदै नगरको समग्र विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरीएको नगरपालिकाका प्रवक्ता सुरेश थापाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS