काठमाडौं । प्रधानमन्त्री बालेनलाई सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत फाइदासँग सम्बन्धित म्यासेज पठाएका कारण प्रहरीले विहीबार केहीबेर नियन्त्रणमा लिएर केरकार गरेको खुलेको छ ।
पुष्करलाई विहीबार अपराह्न उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले केहीबेर नियन्त्रणमा लिएर केरकार गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेको थियो ।
यद्यपि उनीमाथि कुन कसूरमा प्रहरीले सोधपुछ गरेको भन्नेबारे प्रहरी अधिकारीहरूले औपचारिक रुपमा खुलाएका छैनन् । तर स्रोत भन्छ– उनले प्रधानमन्त्री बालेनलाई सिधै म्यासेज पठाएर राजनीतिक नियुक्ति माग गरेका थिए । ‘सेवा अवधि सकिन लागेकाले संवैधानिक निकाय वा अन्य कुनै लाभको पदमा नियुक्ति हुने आकांक्षा राखेर म्यासेज पठाएका थिए,’ स्रोतले भन्यो ।
हाल उपराष्ट्रपति कार्यालयमा सचिव रहेका पुष्कर २०८३ असार २४ गते अवकास हुँदैछन् । अवकासपछि उनले राजनीतिक नियुक्ति खोजेको स्रोतको भनाइ छ ।
तर उनलाई मुद्दा चलाउने किसिमको आधार नदेखिएपछि प्रहरीले विहीबार राति नै छाडेको थियो । ‘माथिकै आदेश अनुसार केही विषयमा उहाँमाथि सोधपुछ गर्नुपर्ने भएर केरकार गरेर छाडियो,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।
९ मंसिर २०८२ मा मुख्यसचिव एकनारायण अर्यालले अवकाश पाएपछि पुष्करले मुख्यसचिवमा दाबी गरेका थिए । तर, सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई रोजेको थियो ।
सरकारका उच्चपदस्थ कर्मचारीहरु प्रभावशाली नेताहरुसँग सिधै पहुँच पुर्याएर अवकासपछि राजदूत वा संवैधानिक निकाय जस्ता विभिन्न आकर्षक लाभका पदमा राजनीतिकरुपमा नियुक्त हुने गरेका छन् । अहिलेको सरकारले विगतका सरकारका भएका राजनीतिक नियुक्तिहरु खारेज गर्दै पदपूर्तिको प्रक्रिया अघि बढाएको छ ।अनलाइनखबर














