तनहुँ, २१ जेठ । तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीस्थित पृथ्वीराजमार्गमा बिहीबार बिहान एम्बुलेन्स र मिनी ट्रक एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
बिहान करिब ६:२० बजे पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेका हुन्।
दुर्घटनामा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ निवासी २४ वर्षीय कुशल परियारसहित एम्बुलेन्समा सवार छ जना र मिनी ट्रक चालक तनहुँको म्याग्दे गाउँपालिका–२ निवासी ३८ वर्षीय महेन्द्र रानाभाट घाइते भएका छन्।
घाइतेमध्ये कुशल परियार र ६१ वर्षीया जुनराखी बुढा मगरको जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। अन्य घाइते अञ्जना बुढा मगर, युवान बुढा मगर, चिजमाया घर्ती र धनप्रसाद बुढा मगरको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये अञ्जना बुढा मगरको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको बताइएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।















