तनहुँ, दमौली । सेवाग्राहीलाई छिटो, सहज र व्यवस्थित सेवा प्रदान गर्ने उद्देश्यले दमौली अस्पतालमा डिजिटल भुक्तानी तथा डाइनामिक क्यूआर प्रणाली सञ्चालनमा ल्याइएको छ। गण्डकी प्रदेशमै पहिलो पटक यस्तो एकीकृत प्रणाली जडान गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रमुख डा. परिवर्तन बरालका अनुसार प्रणाली अन्तर्गत ६ वटा मनिटर जडान गरिएका छन्। तीमध्ये तीनवटा स्वास्थ्य बिमा सेवाका काउन्टर, एउटा भुक्तानी (पे काउन्टर) र दुई वटा फार्मेसी सेवासँग जोडिएका छन्। यस प्रणालीले बिरामीको भुक्तानीका लागि पालो व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेका अनुसार आगामी वर्षभित्र प्रयोगशाला (ल्याब) सेवा समेत यस प्रणालीमा आबद्ध गर्ने योजना रहेको छ। त्यसपछि बिरामीले प्रयोगशालासम्बन्धी सेवाकाे भुक्तानी पनि डिजिटल माध्यमबाट सहज रूपमा लिन सक्नेछन्।
अस्पतालले जनाए अनुसार नेपाल बैंक लिमिटेडको बैंकिङ प्रणाली, नेपाल पे (NepalPay) को क्यूआर पेमेन्ट गेटवे प्रणाली तथा विश्व स्वास्थ्य संगठन (WHO) को ईलेक्टाेनिक मेडिकल रेकर्ड प्रणालीलाई एकआपसमा आबद्ध गरी यो सेवा सञ्चालनमा ल्याइएको हो। यसबाट बिरामीको अभिलेख व्यवस्थापन, भुक्तानी प्रक्रिया तथा सेवा प्रवाहलाई एउटै प्रणालीमा समेट्ने प्रयास गरिएको छ।
डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा आएपछि सेवाग्राहीले शुल्क तिर्न लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ। साथै अस्पतालको सेवा थप पारदर्शी, प्रभावकारी र प्रविधिमैत्री बन्ने अस्पतालका प्रमुख डा. बरालले बताए।
भुक्तानी प्रक्रियालाई थप सहज बनाउन अस्पताल परिसरमा निःशुल्क वाइफाइ सेवा समेत उपलब्ध गराइएको छ। यद्यपि उक्त नेटवर्कमा सामाजिक सञ्जालको प्रयोग भने प्रतिबन्ध गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले सूचना प्रविधिको प्रयोगमार्फत सेवाग्राहीमैत्री सेवा विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ। नयाँ प्रणालीले बिरामीको समय बचत गर्नुका साथै अस्पताल प्रशासनलाई समेत सेवा व्यवस्थापनमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।















