दमौली ।
तनहुँको व्यास नगरपालिकामा वडा नं. ३ मा निजी क्षेत्रबाट सञ्चालित वराही आवासीय माध्यमिक विद्यालय नमुना शैक्षिक संस्थाको रूपमा स्थापित हुँदै गएको छ। वि.सं. २०४२ सालमा स्थापना भएको यो विद्यालय जिल्लाकै पुराना निजी विद्यालयमध्ये एक मानिन्छ।
स्थापनाकाल देखि निरन्तर शैक्षिक गुणस्तरमा जोड दिँदै आएको विद्यालयमा हाल करिब १,३०० विद्यार्थी अध्ययनरत छन्। झण्डै ६० जना शिक्षक–शिक्षिकाले अध्यापन गराउँदै आएका छन्। प्ले–ग्रुपदेखि कक्षा १२ सम्म अध्ययनको व्यवस्था रहेको यस विद्यालयले माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा पनि उल्लेखनीय नतिजा हासिल गर्दै आएको छ।
विद्यालयका सञ्चालक सरिता श्रेष्ठका अनुसार विद्यालयले अनुशासित, विद्यार्थीमैत्री र शैक्षिक वातावरणमा विशेष ध्यान दिँदै आएको छ। “हामीले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक र जीवनोपयोगी शिक्षा दिन प्रयास गरिरहेका छौं,” उनले भनिन्।
यस विद्यालयबाट अध्ययन गरेका सयौं विद्यार्थी अहिले स्वदेश तथा विदेशमा दक्ष जनशक्तिका रूपमा विभिन्न क्षेत्रमा क्रियाशील छन्। यसले विद्यालयको शैक्षिक गुणस्तर र विश्वासनीयतालाई थप पुष्टि गरेको छ। निजी स्तरमा सञ्चालन भए पनि गुणस्तरीय शिक्षा, अनुशासन र परिणाममुखी शिक्षण पद्धतिका कारण वराही आवासीय माध्यमिक विद्यालय व्यास नगरपालिकामा उदाहरणीय शैक्षिक संस्थाको रूपमा चिनिन थालेको छ।















