भिमाद , १९ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर भण्डारीले विगत २८ वर्षसम्म हुन नसकेका विकासका दूरगामी योजनाहरू आफूले पछिल्लो तीन वर्षमा सुरुवात गरेको बताएका छन् । सोमबार भिमाद नगरपालिका–६ स्थित सम्पर्क कार्यालयको उद्घाटन गर्दै भण्डारीले ती थालनी भएका महत्वपूर्ण योजनाहरूलाई पूर्णता दिनु नै आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारे । भण्डारीले भिमाद खानेपानी आयोजना, सेती दोभान पुल निर्माण, सडक स्तरोन्नति र विद्युत सेवालाई प्रभावकारी बनाउन तालचोकको सेवा खैरेनीटारमा विस्तार गर्ने जस्ता कामहरू सुरु भइसकेको र कतिपय सम्पन्न हुने चरणमा रहेको जानकारी दिए । भण्डारीले कृष्ण मोटर मार्ग र श्रृङ्गपथ जस्ता गौरवका आयोजनाहरू कानुनी जटिलता र सर्वोच्च अदालतमा परेका मुद्दाका कारण केही समय रोकिएको भए पनि ती समस्या समाधान गरी अधुरा सपना साकार पार्न आफू अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरे । । आफूले जग बसालेका यी विकासका कामहरूलाई निष्कर्षमा पु¥याउन नै यसपटक आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
सम्बोधनकै क्रममा उनले नेपाली कांग्रेस अहिले युवा नेतृत्वका साथ नयाँ ढङ्गले बदलिएर आएको बताउँदै पार्टीभित्रको यो परिवर्तनले देशकै विकासको गतिलाई पनि बदल्ने दाबी गरे । कांग्रेस अब पुरानो ढर्राबाट नभई नयाँ सोच र जोसका साथ अघि बढेकाले देशको समृद्धि सुनिश्चित भएको बताए । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जीत प्रकाश आलेले शंकर भण्डारीको विकासप्रेमी छविका कारण तनहुँमा उत्साह छाएको चर्चा गरेका थिए । त्यस्तै, क्षेत्र नम्बर १ का सभापति चुडामणी खनाल र भिमाद नगर सभापति अर्विन श्रेष्ठले अधुरा योजना पूरा गर्न र बदलिएको कांग्रेसको नेतृत्वलाई स्थापित गर्न भण्डारीको विजय आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा वक्ताहरूले युवा पुस्ताको भावना समेट्ने कांग्रेस नै अबको विकल्प भएको बताएका थिए । तनहुँ क्षेत्र नम्बर १ मा २८ वर्ष सम्म नेकपा एमालेले चुनाव जितेको स्थानमा यस अघिको निर्वाचनमा भण्डारी विजयी भएका थिए ।














