images
images

प्रचण्डसँग शिक्षकहरूको गुनासो : सरकारले सहमति कार्यान्वयनमा उदासीनता देखायो

images

काठमाडौँ । नेपाल शिक्षक महासङ्घका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी  (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनकै निवास खुमलटारमा भेटवार्ता गरेका छन्।

भेटका क्रममा महासङ्घका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षक पेसा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेसा भएको उल्लेख गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले भने, “शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकि यो एक सम्मानित पेसा हो, जुन देशको भविष्यसँग समेत गाँसिएको छ।”

उनले थपे, “सरकार र शिक्षक महासङ्घबिच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ। हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौँ।”

अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्ने बताए । उनले प्रारम्भिक बाल विकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता पनि औँल्याए। उनले भने, ‘हामी ती मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्नेछौँ।’

भेटका क्रममा शिक्षक महासङ्घका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई राजनीतिक अस्थिरता र अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयन गर्न आग्रह गरे।-रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS