काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हिउँदको समयमा हुने विद्युत् सङ्कट समाधानका लागि विद्युत् साटफेरको प्रस्तावसहित भारतलाई पत्राचार गरेको छ । प्राधिकरणले केही समयअघि भारतको बिहार राज्यसँग विद्युत् साटफेर गर्ने प्रस्तावसहित पत्र पठाएको हो ।
प्राधिकरणका अनुसार नयाँ मोडल अन्तर्गत वर्षा याममा नेपालमा पानीको बहाव बढेर विद्युत् उत्पादन बढी हुँदा बिहारलाई पठाउने र हिउँदमा नेपालका नदीमा पानी कम भइ उत्पादन घट्ने समयमा सोही परिमाणको बिजुली बिहारबाट फिर्ता लिने प्रस्ताव अघि सारिएको हो ।
प्राधिकरणका अनुसार यो प्रस्तावले हिउँदमा महँगो मूल्यमा बिजुली खरिद गर्नुपर्ने बाध्यता हट्ने र विद्युत् आपूर्ति सुनिश्चित हुनेछ । प्राधिकरणले भारतसँग हिउँदको समयमा नेपालमा हुने विद्युत् सङ्कट समाधानका लागि ३०० मेगावाटसम्म बिजुली साटफेर मोडालिटीमा अघि बढ्न सकिने प्रस्तावसहित भारतको बिहार स्टेट पावर होल्डिङ कम्पनीलाई पत्र पठाएको प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घकुमार श्रेष्ठले जानकारी दिए ।
उनले हिउँद महिनामा नेपालमा हुने विद्युत् समस्या समाधान गर्ने उद्देश्यले भारतलाई पत्रमार्फत प्रस्ताव गरेको बताए । उनले बिहार स्टेट पावर होल्डिङ कम्पनीलाई पत्र पठाउँदै वर्षा याममा नेपालको बढी भएको बिजुली बिहारलाई दिने र त्यसको बदलामा हिउँदमा बिहारबाट बिजुली लिने गरी अघि बढ्ने विषयमा प्रस्ताव गरेको जानकारी दिए ।
श्रेष्ठले भने, ‘नेपालले अहिले पनि ६०० मेगावाट भन्दा बढी विद्युत् भारतको एक्सचेन्ज मार्केटमा निर्यात गरिरहेको छ । बिहारबाट अहिले पनि विद्युत् निर्यात भइरहेको छ, तर हिउँदको समयमा हुने विद्युत् सङ्कट समाधान गर्ने उद्देश्यले वर्षामा नेपालले दिने र हिउँदमा नेपालले लिने नयाँ मोडलको प्रस्ताव गरिएको छ ।’
उनले नेपाल र बिहारबिच विभिन्न स्थानमा १३२ केभी प्रसारण लाइन जोडिएकाले यो साटफेर प्राविधिक रूपमा सहज हुने देखिए पनि कार्यान्वयन गर्ने गरी सम्झौता नभएको बताए ।
भारतीय निर्देशिका बन्यो चुनौती
नेपालले बिहारको कम्पनीलाई विद्युत् साटफेर गर्ने प्रस्ताव गरे पनि तत्काल कार्यान्वयन हुने अवस्था नदेखिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।
उनले भने, ‘भारतको क्रस बोर्डर इलेक्ट्रिसिटी ट्रेड गाइडलाइन २०१८ मा विद्युत् साटफेर वा बैंकिङको स्पष्ट व्यवस्था नभएको भन्दै भारतले यसलाई सामान्य आयात–निर्यात जस्तै गरी अघि बढाउनुपर्ने बताएको छ । तत्काल कार्यान्वयन हुने अवस्था देखिएको छैन ।’
प्रवक्ता ढकालका अनुसार बिहार राज्य सरकार प्राधिकरणको प्रस्तावमा सकारात्मक देखिए पनि केन्द्रीय प्राधिकरणको निर्देशिकाका कारण समस्या उत्पन्न भएको छ । भारतीय पक्षले बजारको मूल्य निर्धारण प्रक्रियामा असर पर्ने भन्दै स्वापिङभन्दा पनि व्यापारिक दररेट तोकेरै आयात–निर्यात गर्नुपर्ने अडान लिएको उनको भनाइ छ ।
प्राधिकरणको प्रस्ताव कार्यान्वयनका लागि सरकार स्तरबाट मात्रै सम्भव देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दुई देशबिचको उच्चस्तरीय प्राविधिक समझदारीका आधारमा मात्रै कार्यान्वयन हुने अवस्था देखिएको प्रवक्ता ढकालले जानकारी दिए । उनले प्राधिकरणको प्रस्ताव भारतले स्वीकृत भएमा नेपालले हिउँदमा भोग्दै आएको ऊर्जा सङ्कट समाधानमा ठुलो सहयोग पुग्ने बताए ।
नेपालले जुन महिनादेखि औपचारिक रूपमा विद्युत् निर्यात सुरु गरिसकेको छ र आगामी हिउँदका लागि विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणले विभिन्न विकल्पमा काम गरिरहेको छ । त्यही विकल्पका रूपमा साटफेर नीतिको प्रस्ताव प्राधिकरणले गरेको छ ।
प्राधिकरणले पीटीसी इण्डिया र एनभीभीएन कम्पनी तथा पावर एक्सचेन्ज कमिटीसँग रियल मार्केट र डे अहेड मार्केटबाट बिजुली किनबेच गर्दै आएको छ । प्राधिकरणले १२०० मेगावाट आयात निर्यातको अनुमति पाएको छ ।
वर्षा लागेसँगै नेपालले ६५० मेगावाट विद्युत् निर्यात गरिरहेको छ । अनुमतिको आधारमा भन्दा अहिलेसम्म १००० मेगावाटसम्म विद्युत् बेचिरहेको छ ।
प्राधिकरणले चालु आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि चैतसम्म २ अर्ब ९५ करोड १९ लाख युनिट विद्युत् निर्यात गरी २० अर्ब ४१ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणले गत साउनदेखि चैतसम्म भारतसँग ९४ करोड ८१ लाख युनिट विद्युत् ७ अर्ब ३९ करोड रुपैयाँमा किनेको छ ।
चैत–वैशाखदेखि नै थोरै परिमाणमा निर्यात सुरु भएकोमा हाल वर्षा याम लागेसँगै निर्यातमा वृद्धि हुन थालेको छ । गत सोमबारदेखि बंगलादेशतर्फ पनि ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ ।
जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न २०८१ कात्तिक ३० मा अनुमति पाएको थियो । त्यस्तै, भारतले नेपाललाई निर्यातका निम्ति दिएको अनुमति १ हजार १६५ मेगावाट छ ।
उक्त अनुमति अनुसार भारतमा पनि जुन १५ देखि थप विद्युत् निर्यात सुरु भएको प्राधिकरणले जनाएको छ । ज्येष्ठ ३१ गते अर्थात जुन १५ देखि नेपालबाट भारततर्फ पनि विद्युत् निर्यात उल्लेख्य रूपमा बढेको छ ।
हाल नेपालले भारत र बंलादेश गरी दैनिक करिब ६ सय ५० मेगावाटसम्म विद्युत् निर्यात गरिरहेको प्राधिकरणले जनाएको छ, जसले नेपालको विद्युत् उत्पादन क्षमतामा भएको वृद्धि भएसँगै नेपालको मागलाई पूरा गरी भारतमा विद्युत् निर्यात सुरु भएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले जुन १५ तारिखदेखि भारतको हरियाणा र बिहारसँगको द्विपक्षीय सम्झौता बमोजिमको विद्युत् निर्यात सुरु भएको जानकारी दिए । उनका अनुसार हाल भारततर्फको डे–अहेड मार्केट र द्विपक्षीय सम्झौता गरी ६५० मेगावाट विद्युत् दैनिक रूपमा निर्यात भइरहेको छ ।
भारतीय बजारमा मात्रै एक हजार १२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ । भारतलाई बिक्री गरिने विद्युत्को औसत मूल्य ५.२५ देखि ५.४५ भारतीय रुपैयाँ प्रतियूनिट छ ।
त्यस्तै, बंगलादेशतर्फ पनि विद्युत् निर्यात गरिरहेको छ । हाल बंगलादेशलाई निर्यात गरिरहेको ४० मेगावाट भइरहेको छ । तर अब थप २० मेगावाट वृद्धि गरी ६० मेगावाट पु¥याउने लक्ष्य राखेको थियो ।
जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न २०८१ कात्तिक ३० मा अनुमति पाएको थियो । विद्युत् प्राधिकरणबाट त्रिशुली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी कुल ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न अनुमति छ ।
तर, भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले भारत–बंगलादेश प्रसारण लाइनको क्षमता अभाव देखाउँदै थप निर्यातका लागि स्वीकृति नदिएपछि यो प्रक्रिया रोकिएको छ ।
नेपालले बंगलादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले विद्युत् बिक्री गर्दै आएको छ । थप २० मेगावाटको स्वीकृति प्राप्त भएमा सोही दरमा थप निर्यात हुने छ ।
नेपाल–बंगलादेश सीमा नजोडिएका कारण भारतीय संरचना प्रयोग गरी बिजुली बिक्री गर्नुपर्छ, जसलाई भारतको अनुमति अनिवार्य हुन्छ । भारतीय स्वीकृतिअनुसार दुई आयोजनाको विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यातको अनुमति छ ।रातोपाटी















