चितवन, १२ असार को पहिलो महाधिवेशन अन्तर्गत नयाँ पदाधिकारी चयनका लागि आज चितवनमा मतदान हुँदैछ। निर्वाचन प्रक्रियाको अन्तिम समयमा उम्मेदवारी फिर्ताको क्रम सकिएसँगै चुनावी प्रतिस्पर्धाको समीकरण स्पष्ट भएको छ।महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच कडा प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार यी दुई नेतृबीच चुनावी भिडन्त हुने पक्का भएको हो।
त्यसैगरी, महामन्त्री पदका लागि यसअघि ९ जनाको उम्मेदवारी रहे पनि दुई जनाले नाम फिर्ता लिएका छन्। निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी र जगदिश खरेलले उम्मेदवारी फिर्ता लिएसँगै अब यो पदमा ८ जना प्रतिस्पर्धी बाँकी रहेका छन्। महामन्त्रीका उम्मेदवारहरूमा प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्।
पार्टी सभापतिमा रवि लामिछाने र खुलातर्फको पुरुष उपसभापतिमा डा. स्वर्णीम वाग्ले यसअघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन्। आज बाँकी रहेका ५ पदाधिकारी पदका लागि निर्वाचन हुन लागेको हो।
अन्य पदहरूमा सहमहामन्त्री (खुला) तर्फ ११ जना र सहमहामन्त्री (महिला) तर्फ ५ जना प्रतिस्पर्धामा रहेका छन्। छ दिनदेखि जारी महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिहरू घर फर्किसकेको अवस्थामा सीमित प्रतिनिधिहरूको उपस्थितिमा निर्वाचन सम्पन्न हुँदैछ।
साभार:नयाँ पेज















