तनहुँ — तनहुँ जिल्लाको धार्मिक तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण आँबुखैरेनी गाउँपालिका वडा नं. १ स्थित आँधीमूलमा ताल निर्माण कार्यले आकार ग्रहण गरेको छ । धार्मिक गन्तव्यका रूपमा परिचित यस स्थलमा पर्यटक आकर्षण बढाउन उद्देश्यले गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा ताल निर्माण कार्य अगाडि सारेको थियो। गाउँपालिकाले करिब १० रोपनी क्षेत्रफलमा फैलिएको यो ताल निर्माण ४० लाख बजेट विनियोजन गरी गत असोज महिनाबाट निर्माण कार्य प्रारम्भ गरेको थियो। आठ महिनाको निरन्तर कामपछि अहिले तालले आकर्षक स्वरूप ग्रहण गरिसकेको छ। ताल निर्माणसँगै यहाँ तारबार, बगैचा, ट्रि हाउस, वनभोज क्षेत्र ब्यवस्थित गर्ने लगायतका पूर्वाधारहरू समेतका कामहरु भएका छन्। सो क्षेत्रको सौन्दर्यकरणका लागि हाल सम्म करिब रु १करोड ५० लाख खर्च भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले ताल निर्माणको पहिलो चरण सम्पन्न भइसकेको र अब दोस्रो चरणमा थप पर्यटकीय संरचना विस्तार गरिने बताए। उनका अनुसार, “यहाँबाट १ मेघावाट विद्युत् उत्पादन गर्नेसमेत योजना रहेको छ, जसका लागि निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्ने तयारी भइरहेको छ।” साथै, आँधिमुलमा मिनि चिडियाखाना निर्माण गर्ने योजना समेत गाउँपालिकाले अघि सारेको छ। ताल वरपर पैदलमार्ग, विश्रामस्थल, तथा अन्य गतिविधिहरू पनि संचालनमा ल्याइँदैछ। तालको आसपासमा धार्मिक तथा सांस्कृतिक महत्वका संरचनाहरू रहेका छन्, जसले पर्यटकलाई थप आकर्षण प्रदान गर्ने विश्वास गरिएको छ।

आँबुखैरनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष प्रेमबहादुर गुरुङका अनुसार, आँधीमूल मन्दिरमा पूजाआजा तथा दर्शनका लागि देशभरिका श्रद्धालु आउने गरेका छन्। मन्दिर परिसरमा रहेको ऐतिहासिक पोखरीमा जलदेवताका रूपमा माछा पुजिने प्रचलन छ। यहाँका माछा मरेमा काजकिरिया गर्नुपर्ने परम्परा रहेको छ, जसले यो स्थलको धार्मिक गहिराइलाई झल्काउँछ। इतिहास अनुसार, आँधीमूल बाराहीको पूजाआजा प्राचीनकालदेखि रुखको फेदमा गरिँदै आएको थियो। वि।सं। २०३५ मा स्थानीय पाकुली परियारको सक्रियतामा यहाँ प्यागोडाशैलीको मन्दिर निर्माण गरिएको हो। मन्दिरमा साउन महिना र औँसी बाहेकका सबै दिन पूजाआजा गरिन्छ। विशेष गरी हरिबोधिनी एकादशीका दिन यहाँ डोली विसर्जन, मेला, तोरण टाँग्ने जस्ता धार्मिक क्रियाकलाप हुँदै आएका छन्।
मन्दिर परिसरमा अवस्थित २३ वटा माछाको आकृतिका धारा, दुई पोखरी, पार्क जस्ता संरचनाले पर्यटकीय सौन्दर्यमा थप आकर्षण थपेको छ। तनहुँ, कास्की, स्याङ्जा लगायतका जिल्लाबाट यहाँ दैनिक दर्शनार्थी आउने क्रम बढ्दो छ।
पृथ्वीराजमार्गको सत्रसयबाट करिब साढे दुई किलोमिटरको दूरीमा अवस्थित यो धार्मिक स्थलमा एक किलोमिटर कालोपत्रे सडक पुगेको छ, जसले यहाँको पहुँच अझ सहज बनाएको छ। ताल निर्माणसँगै आँधीमूल अब केवल धार्मिक केन्द्र नभई स्थानीय पर्यटनको प्रमुख गन्तव्यस्थलका रूपमा विकसित हुँदै गएको छ। आगामी दिनमा यहाँको प्रवर्द्धन र प्रचारप्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटकको आगमन थप बढाउने लक्ष्य लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले बताए ।
















