images
images

फर्कियो कोरोनाः अमेरिका र भारतमा संक्रमितको निधनले सम्झायो विगत

images

काठमाडौं– कोरोना महामारीको जोखिम अझै पनि टरेको छैन भन्ने संकेत अमेरिका तथा भारतमा पछिल्लो समय देखिएको संक्रमण र मृत्युका घटनाहरूले दिएका छन् ।

अमेरिकामा हालै एक साताको अवधिमा कोभिड–१९ का कारण ३ सय ५० जना मानिसको मृत्यु भएको छ । यद्यपि यो संख्या अघिल्ला लहरहरूको तुलनामा कम भए पनि सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले अझै पनि सचेत रहन आग्रह गरेको छ।

कोरोनाको नयाँ सब–भेरियन्ट एनबी १.८.१ अमेरिका, सिंगापुर र हङकङ लगायत एशियाका विभिन्न देशहरूमा तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकहरूका अनुसार यो भेरियन्ट अघिल्ला भेरियन्टभन्दा अझ छिटो फैलिने देखिएको छ, तर यसको गम्भीरताबारे अध्ययन अझै जारी छ ।

त्यस्तै भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ । जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन् भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ संक्रमित बेंगलुरुमा रहेका छन् ।

महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा कुल ११ जना बिरामीको मृत्यु भएको छ । जसमध्ये नौ जनाको एक सातामै मृत्यु भएको हो । महाराष्ट्रमा कोरोनाका कारण सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो एक सातामा ७ सय ८७ नयाँ बिरामी दर्ता भएका छन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार हालसम्म भारतमा ४ वटा भेरियन्ट फेला परेको छ ।

नेपालमा सतर्कता

विदेशी मुलुकहरुमा कोरोना फैलीएसँगै नेपाल सरकारले पनि सतर्कता अपनाउन थालेको छ । स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। परीक्षण कीट आपूर्ति र खरिदका लागि आवश्यक तयारी भइरहेको पनि मन्त्रालय स्रोतले जनाएको छ।

छिमेकी राष्ट्रहरूमा देखिएको कोरोना प्रजाति कडा नभए पनि वृद्ध र दीर्घरोगीहरूमा जोखिम उच्च हुने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS