images
images

वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड

images

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय भएको छ ।

दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरूको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका आवश्यक व्यवस्था गर्ने बताएअनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काम थाल्ने निर्णय गरेको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्रले बेग्लै निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय गरेको बताए । वैदेशिक रोजगारीबाट फर्केका जोकोहीले केन्द्रमा गएर निःशुल्क परीक्षण गराउन सक्ने उनले बताए ।

यसैगरी केन्द्रले वैदेशिक रोजगारीमा जानेका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने अभिमुखीकरण तालिममा नसर्ने रोगसम्बन्धी जानकारी र बच्न अपनाउन सकिने उपायबारे जानकारीका लागि विज्ञ चिकित्सक खटाउने भएको छ । वैदेशिक रोजगार बोर्डलाई नसर्ने रोगसम्बन्धी जानकारीमूलक सामग्रीसमेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ ।

यसैगरी, विदेशमै रहेका बखत देखिएका स्वास्थ्य समस्या समाधानका लागि बेग्लै हटलाइन नम्बर र सामाजिक सञ्जालबाट परामर्श दिनका लागि ड्युटीमा रहेका मेडिकल अधिकृतलाई धर्मभक्तले खटाउने भएको छ ।

यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट अनुरोध आएमा लागत खर्चमा मात्र परीक्षण रिपोर्टसमेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ ।

यी निर्णयहरू कार्यान्वयनमा आए पछि वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्यमा निरोधात्मक तथा उपचारात्मक दुवै सुधार हुने भएकाले अहिले देखिएको स्वास्थ्य समस्यामा कमी आउने मन्त्रालयको विश्वास रहेको प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS