images
images
images

एमालेबाट निर्वाचित वडा अध्यक्षको अपराधिक मनोवृत्ति वडा सचिवमाथि निर्घात कुटपिट

images

बन्दिपुर 

नेकपा एमालेका तर्फबाट बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले सचिवमाथि  निर्घात कुटपिट गरेका छन् । वडाध्यक्ष गुरुङले वडासचिव नवीन भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका हुन् ।
वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालले बताए । घटनाको आठ घण्टापछि प्रहरीले वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको छ ।
प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार सोमबार बिहान कार्यालय आएर वडाध्यक्षले नौ माघमा सञ्चालन भएको वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न भनेका थिए । जवाफमा सचिव भुसालले कार्यक्रम स्वीकृत नगरिएकाले र शीर्षक नखुलाई आएकाले विल स्वीकृत गर्न नसक्ने बताएका थिए । त्यसपछि जंगिएका वडाध्यक्ष गुरुङले ‘ठूलो कुरा गर्छस्, मलाई चिनेको छैनस्, मैले भनेपछि बिल पास गर्न के हो गाह्रो ?’ भन्दै धम्क्याएका थिए ।
तेस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिताको अनुमानित लागत तयार नगरिएकोले शीर्षक र खर्च खुलाएर ल्याउन वडासचिव भुसालले अध्यक्षलाई आग्रह गरे । यत्तिकैमा वडाध्यक्ष गुरुङले वडासचिवको घाँटी अठ्याएर तीन झापड हानेको प्रत्येक्षदर्शी एक कर्मचारीले बताए ।
वडासचिवको घाँटी र गालामा निल डाम छ । उनलाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए ।‘बिलको विषयमा विवाद भएपछि वडाध्यक्षज्यूले घाँटी अठ्याएर झापडसमेत हानेको भन्ने छ । वडासचिवलाई थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको छ,’ अधिकृत आचार्यले भने, ‘वडाध्यक्षविरुद्ध इलाका प्रहरी कार्यालय बन्दीपुर, जिल्ला प्रशासन कार्यालय तनहुँमा उजुरीसमेत दिइसकेका छौं ।’
जिल्ला प्रहरी कार्यालय तनहुँले भने भलिबल कोर्टको विवादसमेत हुँदा हातपात भएको जानकारी आएको बताएको छ ।
‘वडासचिवलाई उपचारका लागि पठाइएको छ र वडाध्यक्षलाई नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत आचार्यले वडाध्यक्ष कप र भलिबल कोर्टको विषयसमेत आएकाले बिल कति रुपैयाँ बराबरको थियो र नमिलेको कुन विषय हो भन्ने पुष्टि हुन बाँकी रहेको बताए ।
कारबाही गर्न कर्मचारीको माग
गाउँपालिकाका कर्मचारीहरूले वडासचिवमाथि घाँटी नै अठ्याएर र हातपातसमेत भएकाले कडा कारबाहीको माग गरेका छन् । उनीहरूले ज्यानै मार्ने गरी आक्रमणमा उत्रिएका वडाध्यक्षलाई जोगाउन राजनीतिक दबाब आउन सक्ने आशंका व्यक्त गरे ।
वडाध्यक्ष गुरुङ एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । भुसाल गण्डकी प्रदेशबाट सिफारिस भई यही दसैंपछि मात्र बन्दीपुरमा हाजिर भएर वडासचिवको जिम्मेवारी सम्हालेका थिए । अध्यक्ष गुरूङले आक्रमण गरेपछि सचिव भुसाल फुत्किएर भाग्न सफल भएको त्यही वडाका कर्मचारीले बताएका छन् ।
कारबाही नभएसम्म सेवा ठप्प पार्छौं
तनहुँको बन्दीपुर गाउँपालिकाभित्र कार्यरत कर्मचारीहरूले दोषीलाई कारबाही गर्दै शान्तिसुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नगर्दासम्म सेवा प्रवाह गर्न असमर्थ रहेको बताएका छन् ।
घटनाप्रति ध्यानाकर्षण गराउँदै गाउँपालिकामा कार्यरत कर्मचारीहरूले आफूहरूमाथि सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताएका छन् ।
‘राष्ट्रसेवामा समर्पित र प्रतिवद्ध राष्ट्रसेवक कर्मचारी वडा सचिवमाथि कार्यकक्षमै घाँटी निचोरी मुक्का प्रहार गरी घाइते बनाएको साथै ज्यान मार्ने धम्कीसमेत दिएको निन्दनीय घटनाप्रति यस कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण भएको छ,’ कर्मचारीले विज्ञप्तिमार्फत भनेका छन्, ‘राष्ट्रसेवक कर्मचारीहरुमाथि यस अघि पनि समय समयमा यस्ता अमानवीय, निन्दनीय घटनाहरु तथा हर्कतहरु निरन्तर रूपमा हुँदै आएका छन् ।’
शान्तिपूर्ण, विधिपूर्ण तटस्थतापूर्ण कार्य गर्ने वातावरण नभएको र आफ्नो जीउज्यान माथिको गम्भीर खतराको रुपमा लिएको उनीहरूले बताएका छन् ।
‘कर्मचारीको सुरक्षाको प्रत्याभूति र दोषी उपर कारबाही नभएसम्मको लागि कार्यालयमा अति आवश्यक सेवा प्रवाह बाहेकका अन्य सम्पूर्ण सेवा प्रवाहका कार्य गर्न असमर्थ रहेको अवगत गराइन्छ,’ उनीहरूले विज्ञप्तिमार्फत बताएका     छन् ।

यसैगरी तनहुँका कर्मचारी संघ, संगठनहरुले पनि दोषीलाई कारबाही गर्न माग गर्दै प्रशासनदेखि प्रहरी कार्यालयसम्मलाई ज्ञापनपत्र बुझाएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS