
तनहुँ
तनहुँको दमौली अस्पतालमा कार्यरत डा. स्वेता बस्नेतमाथि भएको दुर्व्यवहारप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाएको छ। अस्पताल प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेको छ।
विज्ञप्तिमा उल्लेख गरिए अनुसार माघ १६ गते साँझ करिब ६:३० बजे डा. बस्नेतमाथि बिरामीका आफन्तले दुर्व्यवहार गरेका थिए। यस घटनापछि अस्पतालका सम्पूर्ण चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले गहिरो दुःख व्यक्त गरेका छन्।
अस्पताल प्रशासनले नेपालका स्वास्थ्यकर्मीहरू सीमित स्रोतसाधनका बाबजुद सेवामा समर्पित रहेको बताउँदै चिकित्सकहरू सुरक्षित नभए स्वास्थ्य प्रणाली नै संकटमा पर्ने चेतावनी दिएको छ। यस्ता घटनाले स्वास्थ्यकर्मीहरूमा नकारात्मक असर पार्ने र गुणस्तरीय सेवा दिन कठिनाइ हुने विज्ञप्तिमा उल्लेख छ।
यसअघि पनि नेपालमा चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटनाहरू दोहोरिरहेका छन्। अस्पताल प्रशासनले स्वास्थ्यकर्मीमाथिको हिंसा रोक्न नेपाल सरकारले “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६” लाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग गरेको छ।
विज्ञप्तिमा नेपाल मेडिकल एशोसिएसन तनहुँ, जिल्ला प्रशासन कार्यालय, दमौली, तथा जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराइएको छ।
घटनाको विरोधमा अस्पतालका चिकित्सक, नर्स, तथा स्वास्थ्यकर्मीहरूले हस्ताक्षर गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।