काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । रास्वपाका सभापतिसमेत रहेका लामिछानेसँग सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले दिनभर साढे ८ घण्टा बयान लिएका थिए ।
लामिछानेको बयान नसकिएको र मंगलबार पनि निरन्तर बयान लिइने अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘बयान सकिएको छैन, आज पनि निरन्तर बयान लिन्छौँ ।’
लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् ।
अहिलेसम्मको बयानमा पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सूर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइन् ।’ रातोपाटी