दमौली
नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि तनहुँको एक पालिकाले गर्भवती महिलालाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेको छ । यस्तो सुविधा दिनेमा व्यास नगरपालिका रहेको छ ।
सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिन आकर्षित गर्न सुत्केरीलाई पोषण भत्ता दिईएको नगरपालिकाले जनाएको छ । नगरपालिका अनुसार गर्भवती महिलाको स्वास्थ परिक्षण नगर्दा र घरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्य समस्या पर्ने भएकोले यसको अन्त्यको लागि भत्ता उपलब्ध गराउन थालिएको हो । ‘महिलासँग उपमेयर कार्यक्रम’ अन्तर्गत पोषण भक्ता उपलब्ध गराउन थालिएको हो ।
नगर पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिईएको हो । नगरपालिकाले गर्भवतीलाई पोषणबापत जनही रु. पाँच हजारका दरले भत्ता वितरण गरेको छ । भत्ता वितरण कार्यक्रमको आइतबार शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलेले आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाले प्राथमिकता दिएइको बताए ।
नगर प्रमुख न्यौपानेले नगरपालिकाको आर्थिक सहयोगमा दमौली अस्पतालमा सुत्केरी महिलाको अप्रेसन सेवालाई निरन्तर दिनका लागि गाइनोलोजिष्ट र एनेस्थेसिस्ट गरी दुई जना चिकित्सकलाई पारिश्रमिक उपलब्ध गराईएको जानकारी दिए। त्यसैगरी सुत्केरी हुने महिलालाई अस्पताल लैजान र घरमा पु¥याउन निशुल्क एम्बुलेन्स सुविधा प्रदान गरिएको न्यौपानेले बताए । स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको आधारमा गर्भवतीलाई भत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ ।
गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम दिईएको उपप्रमुख इन्दिरा दरैले बताइन् । पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन तथा प्रोटोकलअनुसार गर्भवती जाँच गर्न प्रोत्साहन गर्ने उद्देश्यले गर्भवती पोषण कार्यक्रम अन्तर्गत हातमै नगद रकम प्रदान गरिएको दरैले जानकारी दिए। दरैले भने, ‘घरमा सुत्केरी गराउँदा पोषणको कमी हुँदा आमा र शिशुको स्वास्थ्यमा असर पर्ने भएकोले सचेतनाको लागि कार्यक्रम सञ्चालन गरेका हौं ।’ नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा प्रोटोकलअनुसार नियमित गर्भ जाँच गर्ने गर्भवतीलाई भत्ता वितरण गरिनेछ ।
नगरपालिका भित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) गर्भवती महिलालाई आठ महिनामा मातृ शिशुकार्डको आधारमा रु. पाँच हजार वितरण गरिने महिला शाखा प्रमुख राधा आचार्यले जानकारी दिए ।
यस कार्यक्रमको लागि चालु आर्थिक वर्षमा दश लाख रुपियाँ विनियोजन गरिएको हाल सम्म ७१ जनाले सुविधा पाएको उहाँले बताए ।