काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सम्पन्न भएको छ । हिजोदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा हिजो नै ४० जनाले सुझाव राखेका थिए । आज बिहानबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेपछि बैठक सम्पन्न भएको हो ।
आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरूप आयोजना गरिएको बैठक अन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ । अब प्रदेश नम्बर १ र मधेस प्रदेश तथा ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार समितिको बैठक बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।
प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर सङ्गठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ ।