तनहुँ । मुग्लिन-पोखरा सडकको पूर्वी खण्डअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा घर भत्काउन सुरु गरिएको छ । भत्काउनुपर्ने कुल ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेर आफैँले भत्काउन सुरु गरेका हुन् ।
घर भत्काइसकेपछि दोस्रो किस्ता भुक्तानी गरिने मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार दमौली बजार क्षेत्रका घरको क्षतिपूर्तिका लागि करिब छ करोड रुपैयाँ खर्च हुनेछ ।
‘सबै जनाले पहिलो चरणको मुआब्जा लिएमा ६० प्रतिशत वितरण सकिन्छ, अबको डेढ महिनाभित्र दमौली बजार क्षेत्रका घर भत्किइसक्ने अपेक्षा गरिएको छ’, उनले भने ।
जिल्लाको बन्दीपुर गाउँपालिकास्थित डुम्रेबजार क्षेत्रबाट सडक विस्तार तीव्रगतिमा अघि बढेकाले त्यसपछि दमौली बजार क्षेत्रमा काम गरिने उनले बताए ।