डीपीआर र ईआईए सकियो, दुई वटा पक्की पुल निर्माण हुने, ५ अर्ब ३ करोड लागत लाग्ने सडकको ठेक्काको समय सन् २०२५ अन्तिमसम्म
![]()
काठमाडौँ — अत्यधिक सवारी चाप हुने पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा खण्डको आँबुखैरेनीबाट मात्र अहिले सडक स्तरोन्नतिको काम भइरहेको छ । आँबुखैरेनी–जामुने पहिलो (पूर्वी)र जामुने–पोखरा दोस्रो (पश्चिम) गरी दुई खण्डमा विभाजन गर्दै यसको स्तरोन्नति अघि बढाइएको हो । ०७७/७८ मा यसको ठेक्का भए पनि आशातित प्रगति छैन । आँबुखैरेनीदेखि पोखरासम्मको दूरी ८०.३३ किमि छ । तर यही सडकको मुग्लिङ–आँबुखैरेनी खण्डको स्तरोन्नतिका लागि अझै ठेक्का हुन सकेको छैन ।
वारिपट्टि बाटो साँघुरो, चट्टान धेरै र मर्स्याङ्दी पावरहाउस रहेकाले त्यहाँ नजिकै निस्कने गरी पारिबाट सडक बनाउन लागिएको हो, जसको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) को काम सकिएको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) रिपोर्ट वन मन्त्रालयबाट स्वीकृत हुने क्रममा रहेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए । अध्ययनअनुसार यसको निर्माण लागत ५ अर्ब ३ करोड रुपैयाँ छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा यसको निर्माण गरिनेछ, जुन खण्डको दूरी ९ किमि रहनेछ । ‘अध्ययनको काम सकिइसकेको छ,’ आयोजना निर्देशक ढकालले भने, ‘एडीबीसँग ऋण सहयोगबारे कुरा भइरहेको छ, सन् २०२५ को अन्तिमसम्म ठेक्का गर्ने प्रयास भइरहेको छ ।’ वारितर्फ नयाँ सडक नबनाइने भएकाले मर्मत गर्नुपर्ने ठाउँमा आवश्यक मर्मत गरिने उनको भनाइ छ ।
‘अहिले पारिको मात्र ईआईए र डीपीआर गरिएको हो,’ उनले भने, ‘वारिपट्टि भौगोलिक बनावट जटिल छ, जहाँ विद्युत्को पावर हाउस पनि भएकाले नयाँ सडक बन्दैन, अहिले भएकै सडकलाई मर्मत गरेर चलाउँछौं ।’ काठमाडौंबाट मुग्लिङ नपुग्दै चार सय मिटर वर त्रिशूली नदीमाथि र मर्स्याङ्दी पावरहाउसबाट चार सय मिटर पर मर्स्याङ्दी नदीमाथि एकरएक वटा पक्की पुल निर्माण गरिने बताइएको छ ।
यता मुग्लिङ–पोखरा सडक खण्ड स्तरोन्नतिको काम थालेको तीन वर्षमा भौतिक प्रगति न्यून छ । आर्थिक वर्ष ०८१/८२ भित्र सकिसक्नुपर्ने गरी १३ अर्ब ६ करोड रुपैयाँमा उक्त खण्डको ठेक्का भएको हो । एडीबीको ऋण सहयोगमा सडकलाई ४ देखि ६ लेनमा स्तरोन्नति गर्न र ७ ठूला तथा २२ साना पक्की पुल निर्माण गर्ने गरी ठेक्का लगाइएको हो ।
पहिलो खण्डको ठेक्का चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले लिएको छ । यसको दूरी ४१.४५ किमि छ । दोस्रो (पश्चिम) खण्ड जामुने–पोखरा सेती पुलसम्मको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको हो । यसको दूरी ३८.८८ किमि छ । पहिलो खण्डको भौतिक प्रगति करिब ४१ प्रतिशत छ । पश्चिम खण्डको प्रगति भने १३ प्रतिशत छ । ‘पहिलाभन्दा अहिले काम भएको छ । पहिलाको भन्दा प्रगति पनि बढेको छ,’ आयोजना निर्देशक ढकालले भने, ‘पश्चिम खण्डमा गत वर्षसम्म प्रगति दुई प्रतिशत थियो । अहिले प्रगति बढेको छ ।’ काम गर्दिनँ भनेर ठेकेदार उम्कन नपाउने उनले जनाए ।
‘पहिला समस्यै थियो, अहिले काम छिटो सक्न दबाब दिइरहेका छौं,’ उनले भने, ‘दुवै खण्डमा पहिलाको तुलनामा कामको गति बढेको छ ।’ यो खण्डको काम नसकिँदै मुग्लिङपारिको दुई लेनको ठेक्का भइसक्ने आयोजनाको दाबी छ । ‘सबै अध्ययनका काम सकिएका छन्, एडीबीसँग छलफल गरेर निर्णयमा पुगेपछि ठेक्का प्रक्रियामा जान समय लाग्दैन,’ उनले भने, ‘दूरी पनि धेरै छैन, कुनै समस्या नआए छिटो काम सक्ने गरी नै ठेक्का व्यवस्थापनको काम हुनेछ ।’ अहिले यात्रुले नागढुंगाबाट पोखरासम्मै सडक स्तरोन्नति थालिएकाले यात्रामा सास्ती खेप्नुपर्ने बाध्यता छ । ट्राफिक जाम र जथाभावी भत्काइएका सडकका कारण समयमै यात्रुलाई गन्तव्यमा पुग्न हम्मेहम्मे छ ।
















