
गल्याङ (स्याङ्जा), २१ कात्तिक । व्यावसायिक रुपमा ठूला फार्म सञ्चालन गरेका किसानले स्थानीय तहको कार्यालयमै पुगेर कृषिसम्बन्धी विभिन्न सेवा लिइरहेका हुन्छन् । तर निर्वाहमुखी कृषि पेसा अगालेका निम्न वर्ग र मध्यम वर्गका किसान सरकारी निकायसम्म पुग्न नसक्दा सधैँ सेवा सुविधाबाट वञ्चित भएका हुन्छन् ।
पालिकाभित्र रहेका निर्वाहमुखी कृषि पेसामा आवद्ध किसान कृषिसम्बन्धी कुनैपनि सेवा सुविधा पाउनबाट नछुटुन भनेर स्याङ्जाको गल्याङ नगरपालिका कृषि प्राविधिकसहित किसानका घरघरमै पुग्ने गरेको छ ।
नगरपालिकाले ‘किसानसँग कृषि प्राविधिक’ अभियान सञ्चालन गरी किसानका गुनासा सुन्ने, उन्नत जातका बिउबिजन दिने, कृषि क्षेत्रमा देखिने समस्या र समाधान समेटिएको हाते पुस्तक वितरण गने, परामर्श दिने लगायतका कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले गत असोज २३ गतेदेखि टोलटोलमै पुगेर किसानलाई पाँच प्रकारका उन्नत जातका बिउबिजन वितरण गर्दै कृषिसम्बन्धी जानकारी समेटिएको पुस्तकसमेत किसानलाई दिँदै आएको छ ।
गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमल्सिनाले नगरपालिकाभित्रका करिब पाँच हजार किसानलाई ‘किसानसँग कृषि प्राविधिक’ कार्यक्रममा सहभागी बनाइ सेवा प्रदान गर्ने बताउनुभयो । उहाँले नगरभित्रका गुुजारा चलाइरहेका किसान नछुट्ने गरी आफूहरु किसानका घरदैलोमा पुगेको उहाँको भनाइ छ । उहाँले यो कार्यक्रममार्फत नागरिकलाई कृषि पेसामा आकर्षित गर्ने, किसानका गुनासाका आधारमा समस्या समाधान गने योजना बनाएको दाबी गर्नुभयो ।
उपप्रमुख न्यौपानेले किसानका घरघरमा जाँदा अनुदानका कार्यक्रम बढाएर व्यावसायिक किसानलाई हौसला दिन आग्रह गरिएको बताउनुभयो । “किसानका घरघरमा जाँदा पुरुषभन्दा महिला बढी सङ्ख्यामा कृषि कर्ममा लागेको पायौँ,” उहाँले भन्नुभयो, “लक्षित समूहको पनि कार्यक्रममा उत्साहाजनक सहभागिता देख्दा कृषि क्षेत्रमा लागेका बहुसङ्ख्यक किसानलाई आवश्यक सुविधा बढाएर सम्मान गर्नुपर्ने आभास भएको हो ।”
न्यौपानले गल्याङ नगरपालिकामा बसोबास गर्ने नागरिकको चाहना कृषि पेसातर्फ रहेको भन्दै उनीहरुलाई हौसला प्रदान गर्न उत्पादित कृषि सामग्रीको बजारिकरण गर्ने योजनामा नगरपालिका रहेको जानकारी दिनुभयो । उहाँले गल्याङ नगरपालिकामा सम्भावना राम्रो भएकाले तरकारी, मासु र दूध उत्पादनलाई विशेष जोड दिइएको बताउनुभयो ।
गल्याङ नगरपालिकाका कृषि शाखा प्रमुख शिव ढकालले हालसम्म वडा नं १, ३, ४, ६, १० र ११ का २४ वटा टोलका किसानसँग पुगेको बताउनुभयो । उहाँले मङ्सिर १५ गतेभित्र वडा नं २, ५, ७, ८ र ९ का किसानका टोलमा पुगेर अन्तरक्रियासहितका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । “अहिलेसम्म एक हजार पाँच सय बढी किसानलाई हाते पुस्तक र बिउबिजन वितरण गरेका छौँ”, ढकालले भन्नुभयो, “किसानले जनप्रतिनिधिसँग गुनासो राख्ने, प्राविधिक सल्लाह लिने गरेका छन् ।”
नगरपालिकाका पशुुशाखा प्रमुुख सुशील अर्यालले पशुुपालक किसानले पशुमा लाग्ने रोग, प्रजनन्सम्बन्धी जानकारी पशु खोप, घाँस, कृत्रिम गर्भधारणबारे जिज्ञासा राखेको बताउनुुभयो ।
गल्याङ नगरपालिका–३ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले नगरपालिकाले दिएको सेवा सुविधालाई भरपुर प्रयोग गर्न किसानलाई आग्रह गर्नुभयो । उहाँले किसानहरु नगरपालिकासँग प्रत्यक्ष जोडिन नसक्ने भएकाले यो अभियान बढी प्रभावकारी भएको बताउनुभयो । भट्टराईले आउने दिनमा पनि नगरपालिकासँग यस्तै जनमैत्री कार्यक्रमको माग गरेको बताउनुभयो ।
वडा नं ३ का किसान खुुमा अर्यालले पालिकाले योजना गरेको ‘किसानसँग कृषि प्राविधिक’ कार्यक्रम प्रभावकारी भए पनि नगरपालिकाले दिने सेवासुुविधा वास्तविक किसानले नपाउने गरेको गुुनासो गर्नुुभयो । “पालिकाले कृषिसम्बन्धी विभिन्न कार्यक्रम ल्याएको सुुनिन्छ”, उहाँले भन्नुुभयो, “सूचना जारी नै नगरी टाठाबाठाले त्यो सुुविधा लैजान्छन्, हामीले पनि व्यावासायिक रुपमा कृषि पेसा अगालेका छौँ तरहामीले थाहै पाउँदैनौँ ।” रासस