काठमाडौं-काठमाडौंमा सुनको सिक्री लुटेको आरोपमा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२८ का ४४ वर्षीय सुरज गुरूङ, पर्सा घर भई काठमाडौं महानगरपालिका(१७ बस्ने ४८ वर्षीय अनवर हुसेन अंसारी, भारत घर भई काठमाडौं महानगरपालिका-२३ बस्ने ४७ वर्षीय शक्ति भौमित र भारत घर भई काठमाडौं महानगरपालिका-२२ मा बस्ने ३० वर्षीय सचन गाड्बे हुन्।
उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो।
भदौ २५ गते साँझ काभ्रे पाँचखाल नगरपालिका-१२ घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने अप्सरा श्रेष्ठले २ तोलाको सुनको सिक्री चोरी भएको उजुरी दिएकी थिइन्।
सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सुरजको संलग्नता खुलेपछि अन्य मानिसहरू जोडिँदै गएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार यी चारै जनाले काम बाँडफाँट गरेको देखिन्छ।
सुरज मोटरसाइकल चालक हुन्। उनको पछाडि अनवर हुसेन बस्ने र सिक्री तान्ने गरेको खुलेको एसपी रेग्मीले बताए।
प्रहरीका अनुसार चोरी गरिएको सुनलाई बिक्री गर्न सहयोग गर्ने काम शक्तिले गर्ने गरेको पाइएको छ। सचिन सुन किन्ने व्यक्ति हुन्। त्यसैले उनलाई पनि नियन्त्रणमा लिइएको एसपी रेग्मीले जानकारी दिए। सेतोपाटी