![](https://i0.wp.com/udghoshnews.com/wp-content/uploads/2023/08/Dr-Shreeprasadh-Adhikari.webp?fit=1140%2C1517&ssl=1)
सह प्राध्यापक डा. श्रीप्रसाद अधिकारी,
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल
प्रायः महिलाहरुले बच्चा बनाउने योजना बनाएदेखि नै स्वास्थ्यको ख्याल गर्नुपर्छ। सामान्यतयाः अहिले हामीले गर्भवती हुनुभन्दा तीन महिना अघिदेखि नै शरीरिक अवस्था कस्तो छ भनेर जाँच गर्छौं।
यदि कुनै महिलाहरुमा थाइराइड, सुगर जस्ता समस्या छन् भने ती समस्यालाई ठिक बनाएर परिवारको योजना बनाउनु पर्छ। तीन महिना पहिलेबाट फोलिक एसिड र अन्य सप्लिमेन्टहरु खाएर गर्भवती हुँदा अझ बढी राम्रो हुन्छ।
त्यस्तै गर्भवती भइसकेपछि पनि खानपिनमा विशेष ध्यान दिनुपर्छ।
गर्भवती महिलाले गर्भ बसेको १२ हप्तासम्म विशेष ध्यान दिनु पर्छ। यो भनेको भ्रुण बन्ने अवस्था हो। यो समयवधिमा भ्रुणको अङ्गभङ्ग हुने सम्भावना रहेकाले कुनै पनि औषधि खाँदा डाक्टरको सल्लाह लिनुपर्छ।
टाउको दुख्दैमा, ज्वरो आउँदैमा, पखाला लाग्दैमा आफै मेडिकलमा गएर औषधि किनेर खानु हुँदैन। त्यसले शिशुलाई असर गर्न सक्छ। यो अवस्थामा घरकै खानेकुरा खाएर ठीक हुनु पर्छ।
गर्भ बसेको तीन महिनासम्म फोलिक एसिड खानु पर्छ। अन्य कुनै दीर्घ रोग भएमा डाक्टरको सल्लाह अनुसार अगाडि बढ्नु पर्छ। यो अवस्थामा पोषणयुक्त खानापानमा बढी जोड दिनु पर्छ। खानामा पाइने सम्पूर्ण भिटामिनहरु मिलाएर खानु पर्नेहुन्छ।
गर्भावस्थामा खाने भन्दैमा धेरै खानु पनि हुँदैन। यो समयमा प्रोटिन, कार्वोहाड्रेड, फ्याट सबै मिलाएर खानुपर्छ।
सामान्य हिँडडुल पनि गर्नुपर्छ। किनभने आजभोलि गर्भावस्थामा पूर्ण आराम नै गर्नुपर्छ भन्ने धारण रहेको छ त्यसले गर्दा मोटापना, उच्चरक्त चाप र सुगर जस्ता समस्या बढाउँदै लगेको देखिन्छ।
गर्भवती महिलाको जाँच गराउँदा यदि अवस्था सामान्य छ कुनै समस्या देखिएको छैन भने गर्भावस्थामा अन्य सामान्य अवस्था जस्तै काम पनि गर्न सकिन्छ। गर्भावस्था विशेष अवस्था भएकाले अन्य बेलाको जस्तो बाहिरको जथाभावी जे पायो त्यो खाने कुरा खानु हुँदैन। गर्भावस्थामा विशेष गरेर खानापान, औषधि र कुनै पनि रेडियसन दिने ठाउँ छ भने त्यस्तोमा जानु हुँदैन।
गर्भावस्थामा परिवारको सहयोग धेरै
गर्भावस्थामा हर्मोन धेरै परिर्वतन हुन्छ त्यसले गर्दा मानसिक रुपमा पनि परिर्वतन आउने भएकाले श्रीमान र परिवारले धेरै साथ दिनुपर्छ। गर्भावस्थामा महिलाहरुले परिवारका कसैले पनि साथ दिँदैन भन्ने धेरै महशुस गर्छन्। त्यसैले परिवारले पूर्णरुपमा सहयोग गर्नुपर्छ।
त्यस्तै गर्भवती महिलाले गर्भावस्थामा जाँडरक्सी, चुरोट खानु हुँदैन। र, परिवारको कुनै पनि सदस्यले गर्भवतीको नजिक बसेर धुमपान गर्नु हुँदैन। चुरोट र गुट्खाको धुवाँले गर्भवतीसँगै पेट भित्रको बच्चालाई पनि गम्भीर असर पुर्याउँछ।
मद्यपान र धुमपानको टक्सीनले बच्चामा लामो समयसम्म असर गर्छ। बच्चा नबढ्ने र रक्त रोगहरु जस्ता समस्या निम्त्याउन सक्छ।