नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन स्थानीयले पहल थालेका छन् । भानु नगरपालिका–४ स्थित चुँदीरम्घा ओझेलमा परेपछि यसको प्रचारप्रसारमा स्थानीय जुटेका हुन् । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यसँग सम्बद्धस्थलको पुनः निर्माण, खोजरअनुसन्धान, प्रवर्द्धन तथा प्रचारप्रसार गरी साहित्यिक पर्यटकीयस्थल बनाउने उद्देश्यले स्थानीयबीच प्रारम्भिक चरणको छलफल सम्पन्न भएको छ । ‘चुँदी रम्घा बनाऔँ’ अभियानअन्तर्गत भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटलगायतको सहभागितामा आयोजित छलफलले आदिकविको जन्मस्थललाई साहित्यिक पर्यटकीयस्थल बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
भानुजयन्तीका दिन मात्रै यस ठाउँको खोजी हुने गरेकामा अब वर्र्र्षभरी यहाँको चर्चा हुनेरगराउने अभियान सञ्चालन गरी प्रचारप्रसार, पुनःनिर्माणलगायत काममा यहाँका स्थानीय जुटेका अभियान्ता सन्देश आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेको महसुस भएपछि स्थानीय एकजुट भएर यसको प्रचारप्रसारमा जुटेका हौँ ।” अभियान्ता आचार्यले विसं २०७८ भदौ ७ गतेदेखि ‘चुँदी रम्घा बनाऔँ’अभियान सञ्चालन गर्दै आउनुभएको छ । उहाँका अनुसार यस अभियानअन्तर्गत भानु स्मारकको संरक्षण, सम्बद्र्धन एवं पुनःनिर्माणको तयारी गरिएको छ । स्थानीय, प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरी थप योजना बनाइने स्थानीय राजीव श्रेष्ठले बताउनुभयो । “चुँदी रम्घालाई साहित्यिक एवं पर्यटकीय थलोको रुपमा विकास गर्नका लागि केही पहलकदमी अगाडि बढाएका हौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा भानु स्मारकको काम हुनेछ । त्यसका लागि सबैको सहयोग आवश्यक छ ।” छलफलमा स्थानीय ज्येष्ठ नागरिक हरिनाथ आचार्यले सबैको ऐक्यबद्धताले भानु जन्मथलो पर्यटकीयस्थलको रुपमा विकास हुने बताए ।