images
images
images

चितवनमा महिलाले निशुल्क यात्रा गर्न पाउने रवि लामिछानेको ब्लू बस सञ्चालनमा

images

१७ साउन, चितवन । चितवन क्षेत्र नं। २ बाट दोस्रोपटक निर्वाचित भएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न कार्यक्रम घोषणा गरेका छन् ।

क्षेत्र नं। २ लक्षित कार्यकारी अधिकृतको नियुक्ति र पदस्थापनादेखि स्वास्थ्य बीमा, महिलाहरुका लागि निशूल्क बस, ६५ वर्ष नाघेका वृद्धवृद्धाका लागि घरमै पुगेर निशूल्क स्वास्थ्य जाँच, नमूना विद्यालय निर्माण गर्ने लगायतका घोषणा गरेका छन् ।

निर्वाचित भएको १०० दिनसम्मको तयारी पछि उनले घोषणा गरेका कार्यक्रम, कार्यालय सञ्चालन, कार्यकारी अधिृकत जस्ता विषयले निर्वाचित क्षेत्रमा सांसदको खर्च बढाउने गरि सार्वजनिक भएका छन् । ३२ सिटे निजी बसलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी भाडामा लिइएको सांसद रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । सो बसमा महिलाहरु मात्रै चढ्न पाउने छन् र उनीहरुले बसको भाडा तिर्नुपदैन ।

भाडामा चल्ने बसको पुरानो स्वरुपको रंगलाई बदलेर राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ह निलो रंग लगाइएको छ । स्वकीय सचिव सिग्देलका अनुसार हरेक दिन बिहान बस कालिका नगरपालिकाको शक्तिखोरदेखि चल्न सुरु गेरेर जुटपानी, खोलेसिमल पदमपुर हुँदै भरतपुर आउने छ ।

भरतपुरको वाइपास रोड, सरकारी अस्पताल, चौविसकोठी पूल्चोक, पोखरा बसपार्क, देवघाट, ठिमुरा रामनगर, पोखरा बसपार्क, पूल्चोक शिवघाट, धर्मचोक चौविसकोठी, अस्पताल रोड, हाकिमचोक बसपार्क लगायतका क्षेत्रमा घुमिरहने स्वकीय सचिव सिग्देलले जानकारी दिए ।

बस रातिमा वास बस्न शक्तिखोर नै जानेछ । बसमा चढ्ने महिलाहरुका लागि रवि लामिछानेको फोटोसहितको एक कार्ड दिइने छ । सो कार्ड स्क्यान गरेपछि मात्रै बसमा चढ्न पाइने छ । यस्तो कार्ड सुरुको चरणमा ५ सय र पछि आवश्यकता अनुसार थप गरिनेछ । कार्डमार्फत् बसमा को–को चढे भन्ने कुराको रेकर्ड रहने स्वकीय सचिव सिग्देलले बताए ।

बस भित्र आफ्ना गुनासा तथा सुझावहरु राख्न सुझाव पेटिका, सेनिटरी प्याड लगायतका सामग्रीहरु राखिनेछ । बसका सिट कभर घण्टी चिन्हसहितको निलो कपडाले बेरिएका छन् । बस भित्र रवि लामिछानेले गरेको अपिल बजिरहने व्यवस्था मिलाइएको छ । अहिले हाल एउटा मात्रै बस चलाएर परीक्षण गर्ने र पछि आवश्यकता अनुसार बसहरु थप्दै लैजाने योजना रहेको सांसद लामिछानेले बताएका छन् ।

लामिछाने निर्वाचन जितेको १०० दिनको अवसरमा गरिब तथा विपन्न नागरिकका लागि ५ लाख बरावरको स्वास्थ्य बीमा, ६५ वर्षभन्दा माथिको उमेरका वृद्धवृद्धा र अशक्तलाई घरमा नै गएर स्वास्थ्य जाँच गर्ने एक भ्यानसहितको चिकित्सकीय टोली पनि बनाएका छन् ।

एक जना एमबीबीएस चिकित्सकसहितको यस्तो टोलीले हरेक दिन विभिन्न टोलमा पुगेर स्वास्थ्य जाँच पुग्ने अस्पतालसम्म लैजानका लागि सहयोग गर्ने तथा आवश्यक स्वास्थ्य सल्लाहसमेत दिने लामिछानेले बताए । विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारी दिने कार्यक्रहरू सुनाए ।

सांसद लामिछानेले विदेशमा रहेका नेपालीलाई स्वेदशमा नै कामको अवसर दिन विभिन्न नीजि संघसंस्थाहरुसँग कर्मचारी आवश्यकताको माग मागेर त्यसलाई सार्वजनिक गरेका छन् । अहिले एक सय जनालाई विभिन्न संस्थामा रोजगारी दिने भनेर उनले विज्ञापन गरेका छन् । विभिन्न स्वदेशी तथा विदेशी पत्रिकामा विज्ञापन दिएको दावी गरेका लामिछानेले उनीहरुलाई निःशुल्क रुपमा नेपाल ल्याएर मासिक ४० हजारदेखि डेढ लाख रुपैयाँसम्म तलव दिने भनिएको छ ।

लामिछानेले सूचनामा कुन संघसंस्थाका लागि कामदार मागिएको हो भन्ने खुलाएका छैनन् । उनले निर्वाचनमा प्रतिवद्धता गरे अनुसार बेलायतबाट उच्च शिक्षा हासिल गरेर स्वदेश आएका कार्यकारी निर्देशकका रुपमा हेमन्त बराललाई छनौट गरेको जनाएका छन् ।

४०० बढी आवेदनबाट अन्तर्वार्ता लिएर सूचना प्रविधि तथा डाटा सेन्टर कन्सल्टेन्ट भएर काम गरेका बराल कार्यकारी अधिकृत बनाइएको लामिछानेले बताएका छन् । बरालले पाउने सेवा सुविधा के हुने भन्ने बारेमा केही खुलाइएको छैन ।

कालिका नगरपालिकाको चर्तुमुखी मावि र भरतपुर १ को रामनगर माविको कक्षा ११ र १२ लाई नमूना विद्यालय बनाउने कार्यक्रम पनि उनले घोषणा गरेका छन् । यी विद्यालयमा पढ्ने विद्यार्थीलाई काठमाडौंको बूढानीलकण्ठ र पोखराको गण्डकी बोर्डिङमा पढ्नेसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउने लक्ष्य आफूले लिएको लामिछाने बताए । उनले पछि थप १ विद्यालय पनि थपिने बताउँदै अहिले ११ र १२ कक्षाबाट सुरु भए पनि पछि त्यसलाई कक्षा १०, ९, ८ गर्दै कक्षा १ सम्म ल्याउने बताए ।

उनको निर्वाचन क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालय ९१–७०को स्तरोन्नति गर्ने र कक्षा १२ सम्म आवासीय विद्यालय सञ्चालन गर्ने घोषणा गरे ।

लामिछानेले उपनिर्वाचनमा ५४ हजार १७६ मत ल्याएका थिए । त्यही मत बराबरको संख्यामा वृक्षारोपण गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन् । एक मत बराबर एक विरुवा रोप्ने अभियानको सुरुवात गरिएको उनको भनाइ छ ।

हरेक चार महिनामा विभिन्न सरोकारवालाहरुलाई राखेर सार्वजनिक सुनुवाई गर्ने र पहिलोपटक भदौ १० गते यस्तो कार्यक्रम राखिएको लामिछानले जानकारी दिए ।

मासिक बस भाडा, त्यसको सञ्चालन, कार्यकारी अधिकृतको सेवा सुविधा, सम्पर्क कार्यालयको भाडा, चिकित्सक सहितको टोलीको भ्यानसहितको खर्च, स्वास्थ्य बीमा कार्यक्रमको रकम, विद्यालयलाई नमूना बनाउने जस्ता कार्यक्रममा हुने खर्चको स्रोत के हुने भन्ने प्रश्न पनि खडा भएको छ ।

लामिछानेले समाजमा भएका स्रोतहरू, ब्यक्ति, संघ, संस्था, दाताहरु, शुभचिन्तकहरूको साथ लिएर यी कार्यक्रम चलाउने बताए । उनले यस्तो चिज मान्छेको खल्तीबाट नभई व्यवस्थापन गर्ने कुरा मात्रै भएको बताए । उनले पछि रकम कहाँबाट कति आयो भनेर सार्वजनिक गर्ने पनि बताएका छन् ।  अनलाइन खबरबाट

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS