images
images
images

लामखुट्टे नियन्त्रणमा ध्यान नदिए डेङ्गीको सङ्क्रमण थप फैलिने चेतावनी

images

काठमाडौं । लामखुट्टे नियन्त्रणमा ध्यान नदिए डेङ्गीको सङ्क्रमण थप फैलिने विज्ञले चेतावनी दिएका छन् ।

गर्मीसँगै पानी परिरहेकाले लामखुट्टेको वृद्धि विकास भइरहेको छ । यस्तो अवस्थामा लामखुट्टेको बासस्थान नष्ट गर्न नसके सङ्क्रमण थप फैलिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए ।

उनका अनुसार यसपालि अहिलेसम्म चार हजार जना भन्दा धेरैलाई डेङ्गीको सङ्क्रमण भइसकेको छ ।

यसमध्ये ८० प्रतिशत संक्रमित सुनसरीका रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए ।

उनका अनुसार सबैभन्दा धेरै सुनसरीको धरानमा डेङ्गीको सङ्क्रमण फैलिएको छ । धरान पछि धादिङमा सङ्क्रमितको संख्या धेरै छ ।

डेङ्गी सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । सुनसरी, धादिङ, कास्की, दार्चुला, काठमाडौं, सङ्खुवासभा, म्याग्दी, कञ्चनपुर, रुपन्देही र मोरङमा सङ्क्रमण बढिरहेको छ ।

लामखुट्टे रोकथामका लागि तत्काल अभियान थाल्न र अभियानलाई निरन्तरता दिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।

एक पटक लामखुट्टेको बासस्थान नष्ट गर्दैमा सङ्क्रमण रोकथाम नहुने भएकाले अभियानलाई निरन्तरता दिन महाशाखाले आग्रह गरेको छ । स्थानीय पालिका र नागरिक तत्काल सचेत नभए जटिल अवस्था आउन सक्ने विज्ञले बताएका छन् ।

अहिले सबैभन्दा धेरै सङ्क्रमण फैलिरहेको धरानमा बिरामीको चाप बढेको छ । बिरामीलाई अस्पतालमा शय्या पाउन मुस्किल पर्न थालेको छ ।

यसपालि डेङ्गीका कारण सुनसरीमा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउने तीन जनामध्ये दुई जनालाई अन्य रोग पनि थियो ।

डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।

यो लामखुट्टेले सफा पानीमा फुल पार्छ । यसको टोकाइबाट जोगिन घर भित्र र वरपर पानी जम्न नदिन, शरीर ढाक्ने कपडा लगाउन, खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, खाली भाँडाकुँडा घोप्ट्याएर राख्न तथा सुत्ने बेला झुलको प्रयोग गर्न डाक्टरको सुझाव छ ।

डाक्टरले आउँदो कात्तिक महिनाको अन्तिमसम्म नै डेङ्गीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS