तनहुँ
नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य प्राडा कृष्णप्रसाद गौतमलाई शुक्रवार बधाई एवं सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाईटीको गत हप्ता काठमाण्ठौंमा सम्पन्न विशेष महाधिवेशनबाट अत्यधिक मत ल्याई चौथो स्थानमा केन्द्रीय सदस्यमा निर्वाचित रेडक्रस तनहुँका सभापति समेत रहेका गौतमलाई बधाई तथा सम्मान गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले विशेष कार्यक्रमको आयोजना गरि केन्द्रिय सदस्य गौतमलाई बधाइ एवं सम्मान प्रदान गरेको रेडक्रस तनहुँका मन्त्री सुर्यचन्द्र हड्खलेले जानकारी दिए । रेडक्रस तनहुँका पूर्व सभापतिद्वय रघुनाथ पौडेल र परशुराम गिरीले गौतमलाई बधाइ एवं सम्मान गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तनहुँका पूर्व सभापति समेत रहेका रेडक्रस तनहुँका पूर्व सभापति पौडेलले सामाजिक सेवाभाव बोकेको विश्वकै अग्रणी सामाजिक संस्था रेडक्रसको केन्द्रिय सदस्य बनेर प्राडा गौतमले तनहुँकै सान र मान बढाएको बताए । तनहुँवासीकै निम्ति गर्वको अनुभूति हुने गरि काम गर्न उनले शुभकामना दिए । रेडक्रसको साँख र गरिमालाई उच्च बनाउने गरि काम गर्नुस्, पौडेलले भने । कार्यक्रममा नवनिर्वाचित केन्द्रिय सदस्य प्राडा गौतमले आफ्नो क्षमता र विवेकले भ्याएसम्म रेडक्रसको गरिमालाई अझ उच्चो राख्ने गरि काम गर्ने वताए । नेपाल रेडक्रस सोसाइटी तनहुँका समेत सभापति रहेको प्राडा गौतमले उत्कृष्ट रेडक्रसलाई सर्वोत्कृष्ट बनाउने गरि काम गर्ने जनाए ।
रेडक्रसमा आर्थिक सुशासन कायम गराउने देखि संस्थाको गरिमा उचाइमा पुर्याउने गरि काम गरेर देखाउने उनले वताएका थिए । त्यस्तै कार्यक्रममा रेडक्रस तनहुँका पूर्व सभापति गिरीले रेडक्रसको पवित्रता र भावना अनुरुप काम गर्न सुझाए । रेडक्रस तनहुँका मन्त्री हड्खलेका अनुसार कार्यक्रममा रेडक्रस गण्डकीका महासचिव रामदत्त पौडेल, रेडक्रस तनहुँका उपसभापति नारायणी अधिकारी, कोषाध्यक्ष प्रतापसिं अधिकारी, उपशाखा सभापति दयाराज कट्टेल लगायतले नवनिर्वाचित केन्द्रिय सदस्य प्राडा गौतमलाई बधाइ दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरिए ।