दाङमा बसभित्रै ७३ वर्षीया वृद्धा बलात्कृत भएकी छिन्। तुलसीपुरस्थित बसपार्कमा रोकिराखेको बसभित्र लगेर वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिकाका ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका– ७ का २० बर्षीय रेशम बिक रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए।
घटना बिहीबार राति १२ तिरको हो। उपचारका लागि भन्दै प्युठानबाट दाङ पुगेकी ती वृद्धालाई उनीहरुले बलात्कार गरेका प्रहरीले जनाएको छ। घर जान भन्दै उनी राति बसपार्क पुगेकी थिइन्।
त्यसपछि सहयोग गर्ने बहाना बनाउँदै उनीहरुले बसभित्र वृद्धालाई लगेर बलात्कार गरेको पाइएको डीएसपी मल्लले बताए।
बसपार्कमा रोकिराखेको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर उनीहरुले बलात्कार गरेको पाइएको छ। आफूमाथि बलात्कार हुँदा वृद्धा चिच्याउन थालेपछि स्थानीयले थाहा पाएर उद्धार गरेका थिए। लगत्तै प्रहरीको टोली पनि घटनास्थल पुगेर २ जनालाई पक्राउ गरेको हो।