images
images
images

‘मानव तस्करको जालो गाउँ–गाउँ पुगिसक्यो’

images

 

कुनै समय भारतको कोठीमा लगेर बेच्नुलाई चेलीबेटी बेचबिखन भनिन्थ्यो । तर अब बेचबिखनको गन्तव्य भारत मात्र नभएर खाडी मुलुकहरू पनि बनिरहेका छन् ।

हिजो गाउँका सोझा, अशिक्षित र आर्थिक स्थिति कमजोर भएका महिलालाई झुक्याएर कोठीहरूमा लगेर बेचिन्थ्यो भने अहिले वैदेशिक रोजगारीका नाममा उनीहरूलाई झुक्याएर मानव बेचबिखनको काम भइरहेको छ ।

दलालहरूले विभिन्न प्रलोभनमा पारेर कुवेत, ओमन, यूएई, कतार, साउदी अरेबिया जस्ता देशहरूमा घरेलु कामदारमा पठाइरहेका छन् । तस्कर, दलालहरू वैदेशिक रोजगारको आवरणमा खुल्लमखुला भारतको बाटोहुँदै खाडी मुलुकहरूमा बेचबिखन गर्ने काममा सक्रिय छन् । लुम्बिनी प्रदेशमा मानव बेचबिखनको जोखिम सबैभन्दा धेरै बाँके, दाङ र बर्दियामा छ ।

दलालहरू एजेन्टका नाममा गाउँ गाउँमा आर्थिक रूपमा कमजोर, एकल, सोझा महिलालाई राम्रो कमाइ हुने, पैसा नलाग्ने भनेर प्रलोभनमा पार्छन् । महिलाको निरक्षर र गरिबीको फाइदा उठाएर झुक्याएर विदेश जान तयार गराउँछन् ।

जबकि ती महिलालाई आफू अवैध रूपमा जाँदैछु भन्ने पनि थाहा हुँदैन । वैदेशिक रोजगारीका नाममा उनीहरूलाई विभिन्न सपना देखाइएको हुन्छ तर उनीहरूलाई ‘आफूलाई कहाँ, कसले कसरी लैजाँदैछ’ भन्ने समेत थाहा हुँदैन । यसको जोखिम बारेमा कुनै जानकारी हुँदैन ।

अवैध रूपमा खाडी पुर्‍याइएका महिलाहरू अधिकांश घरेलु श्रम तथा यौनशोषणमा पर्ने गरेका छन् । कपितय महिलाको मृत्यु भएको, कति अंगभंग भएका, बेपत्ता पारिएका र यौन हिंसामा परेका घटना छन् ।
नेपाल भारत बीचको खुला सीमाले तस्करहरूलाई वैदेशिक रोजगारीको आवरणमा मानव तस्करी गर्न सजिलो भएको छ । खुला सीमा भएकाले राहदानी पनि नचाहिने र सजिलै ओहोरदोहोर गर्न सकिने भएकाले तस्करहरू भारतलाई ‘ट्रान्जिट पोइन्ट’ बनाएर विभिन्न मुलुकमा महिलालाई बेचबिखन गरिरहेका छन् ।

तर, सीमाका मुख्य नाकाहरूमा माइती नेपाल, प्रहरी र अन्य संघ–संस्था भएका हुँदा दलालहरू अनेक जुक्ति लगाएर महिला तथा किशोरीहरूलाई सीमा पार गराउँछन् । कतिपय अवस्थामा हामीलाई पनि पत्ता लगाउन मुश्किल पर्छ । नाकामा प्रहरीले सोधपुछ गर्दा घुम्न जान लागेको, उपचार गर्न, आफन्त भेट्न, सामान किन्न जान लागेको भनेर सिकाइएको हुन्छ ।

कतिपय अवस्थामा श्रीमान् श्रीमती र बाबु छोरी नै सँगै लिएर सीमा पार गराउँछन् । कतिपयलाई चाहिं मुख्य नाका बाहेक चोरी नाकाहरूबाट पनि पारि पुर्‍याइन्छ । कहिलेकाहीं रातिको समयमा पनि सीमा पार गराइन्छ । सीमा पार गरेर पछि दिल्ली वा मुम्बई पुर्‍याएर राखिन्छ । त्यहींबाट दुबईहुँदै खाडी मुलुकमा घरेलु कामदारका रूपमा वा यौन धन्दाका लागि पठाइन्छ ।

कति चाहिं शंका लागेर सोधपुछ गर्दा सीमामा समातिन्छन् । त्यसरी सीमाबाट उद्धार गरिएकाहरूलाई आफूहरू दलालको फन्दामा परेको, कहाँ, केका लागि जाँदैछु भन्ने पनि थाहा हुँदैन । पछिल्लो तीन वर्षमा नेपालगञ्जको जमुनाहा नाकाबाट दलालको फन्दामा परेर जोखिमपूर्ण यात्रा गर्न लागेका १ हजार ५१३ जनालाई उद्धार गरिएको छ ।

यो संख्या हरेक वर्ष बढ्दो देखिन्छ । त्यसरी दलालको फन्दामा परेर जान लागेकाहरूलाई सोधपुछ र सम्झाई–बुझाई पछि परिवारको जिम्मा लगाउने काम हामी गरिरहेका छौं ।

अवैध रूपमा खाडी मुलुक तथा भारत पुर्‍याएकाहरूलाई खोजतलास गर्न तथा उद्धारका लागि भनेर हामीकहाँ निवेदनहरू पनि आउँछन् । तीन वर्ष ९२०७७–२०७९० मा माइती नेपाल नेपालगञ्ज शाखामा भारत तथा विभिन्न मुलुकमा पुर्‍याएका महिला तथा किशोरीहरूको खोजतलासका लागि १ हजार ६८४ निवेदन परेका थिए । त्यसमा ६७५ जना मात्रै फेला परे । बाँकी कहाँ छन्, थाहै छैन ।

अवैध रूपमा खाडी पुर्‍याइएका महिलाहरू अधिकांश घरेलु श्रम तथा यौनशोषणमा पर्ने गरेका छन् । कपितय महिलाको मृत्यु भएको, कति अंगभंग भएका, बेपत्ता पारिएका र यौन हिंसामा परेका घटना छन् । त्यसमा पनि यौनशोषणका घटना बढी देखिन्छन् ।

भारतका कोठीमा र खाडी मुलुकहरूमा घरेलु कामदारमा धेरै यौनशोषणमा परेको भेटिन्छ । कतिपय भने महिलाहरू बच्चा च्यापेर फर्किएका र कति भने अरबीहरूलाई बच्चा जन्माइदिएर आफू खाली आएका घटना समेत छन् ।

यसमा के छ भने महिलाहरू यौनशोषणमा परे पनि त्यसबारे खुलेर बोल्न चाहँदैनन् । परिवार र समाजको तिरस्कारको डरले आफू हिंसामा परे पनि उनीहरू घटना लुकाएर बस्छन् । उनीहरू मुद्दा–मामिलामा पनि जाँदैनन् । त्यसकारण पनि मानव बेचबिखनका घटना धेरै भए पनि मुद्दा दर्ता चाहिं थोरै हुने गर्छन् ।

घटनाक्रमले के देखाउँछन् भने मानव तस्करीको जालो गाउँगाउँसम्म पुगेको छ । तस्करहरूले पैसाको प्रलोभनमा पारेर एजेन्टहरूलाई सक्रिय बनाएका छन् । उनीहरू नै मानव तस्करको सहयोगीको रूपमा काम गरिरहेका छन् । म्यानपावर कम्पनीका कतिपय एजेन्टहरू पनि यस्ता कार्यमा संलग्न छन् । तर यति हुँदा पनि मुख्य दलालहरू बाहिर चिनिंदैनन् ।

मानव बेचबिखन विरुद्ध लामो समयदेखि काम गरिरहेका माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालासँग अनलाइनखबरकर्मी आभास बुढाथोकीले गरेको कुराकानीमा आधारित ।

images