
आहा !आहा ! कति सुकिलो उज्यालो छ
चारैतिर विस्कुन फिँजाए झैँ
स्निग्ध प्रकाशको किरण फिजाएर
ऊ अरूलाई उजिल्याउन तम्तयार देखिन्छ
सबैले उसलाई बत्ती भन्छन्
अज्ञानताको कालो हटाउने सर्वज्ञ ठान्छन्
सारा सृष्टीको मूलद्वार ठान्छन्
वाहा !वाह !! गर्छन्
सबैको प्यारो छ ऊ
त्यसैले
अझै सम्मानको तेल थपेर
उसको चमक बृद्धिको कामना गर्छन्
ऊ टाढैबाट स्पष्ट र चहकिलो देखिन्छ
तर
उसको आफ्नै पिँध मुनिको अँध्यारो,
आफू उभिएको उल्टो र कालो ज्ञानको धरातल,
ऊ बाहेक अरू कसैले देख्दैन भन्नेमा
ऊ पूर्ण विश्वस्त छ
अनि
उसको बोलाइको चमकसँग
उसको व्यवहारले दिने दनक मिल्दैन
ऊ “मुखमा रामराम बगलीमा छुरा “ हो
यो अचम्मको जादु छ ऊसँग
ऊ आफैले काटेका मान्छेका टाउकाहरू
प्रोफेसरको शिक्षण सामग्रीझैँ
हाते झोलाभित्र राखेर
त्यही रातो झोला हातमा झुन्ड्याई
मानवतावाद पढाउन
धर्म सिकाउन
आफूलाई विद्वान् भनाउन
ऊ विभिन्न विश्वविद्यालयहरूभित्र छिर्छ
त्यसैले होला
मलाई बत्ती बाहेक अन्त हेर्न मन लाग्दैन
उसले बाहिर अरूलाई छरेको उज्यालो होइन
उसैको पिँधमा रहेका
अँध्यारा र पापका असङ्ख्य काला पत्रे चट्टान
कहिले र कसरी उज्यालिएलान् भन्दै
उसलाई हेरिरहन मन लाग्छ
बत्तीमुनिको अँध्यारो कहिले हट्ला भन्दै
मलाई बत्ती हेरिरहन मन लाग्छ ।
डिल्लीराम घिमिरे
शुक्लागण्डकी २ भूजिकोट